आफ्नो उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हितमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो : नेता श्रेष्ठ



प्रकाशित मिति : Jan 20, 2020

ललितपुर, ६ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् ।

उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता लगाउन फाइल पल्टाएर मात्र पुग्दैन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरूको विदेश भ्रमणको बिजनेस क्लासको टिकेट, तारे होटलको बिल र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको पक्षमा मन्त्रीपरिषदले गरेका नीतिगत निर्णयहरू हेरे प्रष्ट हुन्छ ।’

प्रतितिधिसभाको सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले समाजवादी पार्टीको गैरभौगोलिक विशेष प्रदेश अन्तर्गत शनिबार भएको १ नम्बर र ३ नम्बर प्रदेशका सम्पर्क विशेष जिल्ला समितिहरू समायोजन कार्यक्रममा साे कुरा बताएका हुन् । उनले नीतिगत निर्णयको नाममा देशमा ठूलो परिमाणको भ्रष्टाचार भइरहेको बताउँदै नेकपा अध्यक्षहरूको विदेश भ्रमण खर्चको विवरण छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

नेता श्रेष्ठले मन्त्रीपरिषदले गर्ने प्रत्येक निर्णय नीतिगत नहुने भन्दै त्यसको बहानामा अख्तियार पञ्छिन नमिल्ने बताए । अख्तियारले मन्त्रीपरिषदको नीतिगत निर्णय छानबिन गर्न नमिल्ने भन्नु गलत भएको बताउँदै उनले भने, ‘आम जनताको हीतका लागि नीति बनाउनु मात्र नीतिगत निर्णय हो । व्यक्तिगत लाभका लागि स्वार्थ समूहको पक्षमा गर्ने मन्त्रीपरिषदको निर्णय नीतिगत भन्न मिल्दैन । त्यसको छानबिन गर्नैपर्छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com