बर्दी र गैरबर्दीबीच भावनात्मक सम्बन्ध प्रगाढ नबन्दा अपराध बढ्याे : डिआइजी अर्याल



प्रकाशित मिति : Jan 20, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, ६ माघ । प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डिआइजी राजु अर्यालले प्रहरी र नागरिकबीच भावनात्मक सम्बन्ध बढाएर भ्रष्टाचार र अपराध न्युनीकरण गर्न सकिने बताएका छन्।

आइतबार धनुषाको जनकन्नदनी गाउँपालिका- १ इनर्वा रेलवे स्टेसनस्थित बोर्डर अफ पोस्ट (बिओपी) कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बर्दी र गैरबर्दी (नागरिक) बीचको सम्बन्ध सुदृढीकरणमा जोड दिएका हुन्।

‘हामीजस्तो अल्पविकसित मुलुकमा हतियार र बर्दीको आडमा मै हुँ भन्ने पुरातनवादी सोच अझै पनि कायमै छ,’ डिआइजी अर्यालले भने, ‘बर्दी र गैरबर्दीबीच भावनात्मक सम्बन्ध प्रगाढ नबन्दा अपराध र भ्रष्टाचार कम हुन सकेको छैन।’

प्रहरी सङ्‌गठनभित्र चारवटा सुधारका नीति लिएको भन्दै आन्तरिक सुदृढीकरणले विगतभन्दा उल्लेख्य सुधार भएको उनले बताए।

‘घुस नदिनुहाेस्’

प्रहरीलाई घुस खुवाएर प्रोत्साहन नगर्नसमेत स्थानीय तथा राजनीतिकर्मीलाई उनले सुझाव दिए। ‘आमनागरिकले प्रहरीलाई घुस दिएर प्रोत्साहन गर्छन्, अब त्यस्तो नर्गनुस्। बरू आफू सत्य बाटोमा हिँड्नुस,’ उनले थपे, ‘कुनै पनि प्रहरीले घुस मागेको छ भने उजुरी गर्नुस्। मलाई सिधा फोन गर्नुस्। तर, तपाईं पनि तस्करी, चोरी पैठारीमा संलग्न हुनु भएन।’

प्रदेश २ मा दशगजा क्षेत्रको पहिचान गर्ने अभियान सुरु गरिसकेको भन्दै उनले केही दिनमै प्रदेशका सबै ठाउँमा दशगजा पहिचान गरिसक्ने उल्लेख गरे।

चेकपाेस्ट किन ?

नेपाली भू-भाग अतिक्रमणबाट बचाउन, सीमा क्षेत्रका बासिन्दाको सुरक्षा गर्न र निकट भविष्यमा सुरु हुने भनिएको रेल सेवालाई मध्यनजर गर्दै यहाँ चेक पोस्ट राखिएको सशस्त्र प्रहरी धनुषाका प्रमुख एसपी राजेश उप्रेतीले बताए।

कार्यालय स्थापना भएसँगै यहाँका जनताले शान्ति प्रत्याभूति गर्ने उनको भनाइ थियो। ‘यस कार्यालयले शान्ति सुरक्षादेखि लिएर विभिन्न दृष्टीकोणबाट स्थानीय र सरकारलाई फाइदा पुर्‌याउनेछ,’ उनले भने, ‘छोटी भन्सार कार्यालय पनि सञ्चालनमा ल्याउन मद्दत पुग्छ। निकट भविश्यमा चल्ने भनिएको रेल चेकजाँचमा पनि सहज हुन्छ।’

ईनर्वाको पूर्वीतर्फ कमला नदी रहेको यी क्षेत्र समथल र होचो भू-भाग रहेको भन्दै प्राकृतिक प्रकोपका बेला पनि सजिलै उद्धार गर्न सकिने उनको भनाइ थियो।

जनकन्नदनी गाउँपालिका-१ का वडाध्यक्ष धमेन्द्रकुमार गोइतले रेल सेवा सञ्चालनमा आएपछि विदेशी अपराधीहरू नेपाल छिर्नसक्ने भन्दै यसप्रति प्रहरी अझै सक्रिय हुनुपर्नेमा ध्यानाकर्षण गराए। उनले छोटी भन्सारको आवश्यकता औल्याउँदै प्रहरीको प्रत्येक सकारात्मक क्रियाकलापमा साथ दिने प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com