उपसभामुखले केहीबेरमा राजीनामा दिने, सभामुख निर्वाचन प्रक्रिया आजैबाट अघि बढ्ने



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आजै राजीनामा बुझाउने तयारी गरेकी छन् ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर उनले संसद सचिवालयमा राजीनामा बुझाउने भएकी हुन् । यसअघि सभामुख उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले आइतवार नेकपाको सचिवालयले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

आइतवार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई बोलाएर छलफल गर्दै आफुलाई सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको बताइएको छ ।

संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गर्ने तयारीमा जुटेकाे संसद सचिवालय जनाएकाे छ । आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

सचिवालयले याे सँगै सभामुख निर्वाचन प्रक्रिया पनि आजकै बैठकबाट अघि बढ्ने बताएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com