प्रतिनिधिसभा बैठक आज बस्दै, पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका



प्रकाशित मिति : Jan 20, 2020

काठमाडाैँ, ६ माघ । पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो । यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा बैठक स्थगित हुदै आएको थियो ।

file photo

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउने छ ।

सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर उप सभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिए मात्रै त्यो बाटो खुल्नेछ ।

तर तुम्बाहाङफेले कहिले राजिनामा दिने स्पष्ट भैसकेको छैन । तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने अपेक्षा नेकपाका नेताहरुले लिएका छन् । नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com