पार्टीभित्र समीकरण नै उल्टिने देखेपछि प्रचण्डकाे प्रस्तावमा सहमत भए ओली



प्रकाशित मिति : Jan 20, 2020

काठमाडाैँ, ६ माघ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे ।

तर झन्डै एक महिनाको रसाकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’

पार्टीभित्रको समीकरणमा अप्ठेरोमा परेपछि ओली पूर्वमाओवादी पक्षले अघि सारेको नाममा सहमत हुन बाध्य भएका हुन् । पूर्वएमाले पक्षकै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्ष दाहाललाई साथ दिए । गौतम निवास भैंसेपाटीमा पुस २३ गते सचिवालयका नौमध्ये पाँच जना नेताहरूले छुट्टै भेला गरेका थिए । अध्यक्ष दाहालसमेत सहभागी उक्त भेलाले देखाएको सचिवालयको संख्यात्मक समीकरणलाई चिरेर निर्णय गर्न ओलीलाई अप्ठेरो पर्‍यो ।

अध्यक्ष भएर पार्टी पद्धतिभन्दा बाहिर गएर नेताको निवासमा भेला गरेको भन्दै ओलीले दाहालमाथि अनुशासनको प्रश्न पनि उठाए । ओलीले ‘टाउको गनेर’ आफूमाथि दबाब दिन खोजेको भन्दै अन्य नेताहरूमाथि आपत्ति पनि प्रकट गरे । तर भैंसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा टसमस नहुने अवस्था बनेपछि आइतबार ओली पार्टीभित्रको मनोविज्ञान सम्बोधन गर्ने निष्कर्षमा पुगे । र, सचिवालय बैठकबाट सापकोटालाई सभामुख बनाउने निर्णय भयो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com