प्लास्टिकबाट १८ क्यारेट सुन उत्पादन



प्रकाशित मिति : Jan 19, 2020

एजेन्सी, ०५ माघ । पर्यावरणका लागि प्लास्टिकजन्य फोहोर व्यवस्थापन चुनौती बनिरहेको छ । यद्यपि, कतिपय ठाउँमा प्लास्टिकबाट इन्धनका साथै सडक पिच गर्ने सामग्री समेत उत्पादन गर्न थालिएको छ । तर, स्विट्जरल्याण्डका वैज्ञानिकहरूले भने प्लास्टिकबाट १८ क्यारेटको सुन उत्पादन गर्न सफलता पाएका छन् ।

स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्लास्टिकबाट १८ क्यारेटको सुन उत्पादन गर्न सफल भएका छन् । प्लास्टिकबाट सुन बनाइएको यो पहिलो घटना हो । स्विस विश्वविद्यालय इटिएच ज्यूरिचका वैज्ञानिक राफेल मेजेन्गाका अनुसार प्लास्टिकबाट बनेको सुन परम्परागत १८ क्यारेटको सुनभन्दा झण्डै १० गुणा हलुका छ ।

सुनको परम्परागत मिश्रणमा तीन चौथाइ सुन तथा एक चौथाइ तामा हुन्छ । जसको घनत्व १५ ग्राम प्रति घनसेन्टी मिटर हुन्छ । तर प्लास्टिकबाट बनेको सुनको घनत्व मात्र १ दशमलव ७ ग्राम प्रतिघन सेमी रहेको छ ।

प्लास्टिकबाट सुन बनाउनका लागि वैज्ञानिकहरूले सुनको न्यानो क्रिस्टल, प्रोटिन फाइबर तथा पानी र नुनको साथ एक पोलिमर लेटेक्सको घोल तयार गरेका थिए । उक्त घोललाई कार्वनडाइअक्साइड ग्यासको उच्च दबाबबाट प्रवाहित गरी त्यसलाई ठोस पदार्थमा परिणत गरियो ।

यसरी बनाइएको सुनको चमक पूर्ण रूपमा सक्कली सुनजस्तै छ तर वजन निकै हल्का छ । वैज्ञानिकहरूका अनुसार हलुका हुनुका कारणबाट यो सुन घडी तथा गहनामा प्रयोग गर्न निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com