गायक तथा अभिनेता यमन माझी सम्मानित



प्रकाशित मिति : Jan 19, 2020

काठमाडौं, ०५ माघ । गायत तथा अभिनेता यमन माझीलाई विशेष सम्मान गरिएको छ ।

माझी समूदायको भाषा, धर्म, संस्कार र पहिचान संरक्षण तथा उत्थानमा ठूलो योगदान गरेको भन्दै माझी युवा क्लब र कोशीपारी खेलकुद क्लबले संयुक्त कार्यक्रमको आयोजना गरी गायक/अभिनेता माझीलाई विशेष सम्मान गरेको हो ।

माझी युवा क्लबका अध्यक्ष पुरुषोतम माझी र कोशीपारी खेलकुद क्लबका अध्यक्ष राम बहादुर माझीले संयुक्त रुपमा सम्मान-पत्र प्रदान गर्नुभएको छ ।

माझी युवा क्लब र कोशीपारी खेलकुद क्लबलाई धन्यबाद दिँदै गायक/अभिनेता माझीले भन्नुभयो, ‘मलाई थप हौसला मिलेको छ । माझी समूदायमा अझ धेरै कामहरु गर्न बाँकी नै छ ।

अब चाडै भाषा, संस्कार र समूदायको उत्थान र संरक्षण सम्बन्धी काम गर्ने योजनामा छु । आगामी दिनहरुमा पनि थप हौसला र सहयोग प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा राखेको छु ।’

उहाँले माझी भाषाको संरक्षणको लागि विभिन्न भाषागत कक्षाहरु सञ्चालन गर्दै आउनुभएको छ ।

को हुन् यमन माझी ?

वि.सं. २०४९ साल कात्तिक २५ गते काभ्रेको तेमाल गाउँपालिका–३ मा यमन माझीको जन्म भएको हो । उहाँको बुबाको नाम सुब्बा माझी र आमा हरिमाया माझी हुन् ।

आफूलाई गायक भन्न रुचाउने उहाँले वि.सं.२०६६ सालमा माझी भाषाको गीत ‘कखनी उपर कखनी तलेन’बाट सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।

उहाँले करीब १ सय भन्दा बढी गीतहरुमा आवाज दिइसक्नुभएको छ, भने दुई दर्जन भन्दा बढी गीतमा संगीत भरिसक्नुभएको छ । त्यस्तै उहाँ दर्जनौं म्युजिक भिडियोहरु निर्देशन/छायाङकन गरिसक्नुभएको छ ।

पछिल्लो वर्ष यमन माझी अभिनित दुई फिल्म ‘एक्स्ट्रा माया’ र माझी भाषी फिल्म ‘मोङो डोङा-२’ दर्शकमाझ रिलिजमा आएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com