५ माघ २०७६, आईतवार

काठमाडौँ, माघ ५ । बेलायती राजकुमार दम्पत्ती ह्यारी र मेगनले औपचारिक रुपमा राजदरवार छाड्ने घोषणा गरेसँगै बकिङ्घम दरवारले राजकुमार ह्यारी र मेगनको शाही उपाधि सकिएको घोषणा गरेको छ । दरबारद्वारा जारी वक्तव्यका अनुसार उनीहरूले अब नागरिकको करबाट आउने रकम समेत पाउने छैनन् ।

दरबारद्वारा जारी वक्तव्यका अनुसार ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्। यसअघि ह्यारी र मेगनले आफूले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने घोषणा गरेका थिए।

राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्। नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ।ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर फ्रोगमोर कटेजको मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन्।

यद्यपि बकिङ्घम दरबारले यी दम्पतीको आउने दिनमा कस्तो सुरक्षा व्यवस्था हुनेछ भन्नेबारे टिप्पणी नगर्ने जनाएको छ।दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने जनाएको छ।

LIVE TV