५ माघ २०७६, आईतवार

एजेन्सी, ५ माघ । आफ्नो नयाँ बर्दीको खिल्ली उडाइएपछि अमेरिकी अन्तरिक्ष सेनाले त्यसको बचाउ गरेको छ । स्पेश फोर्स नाम दिइएको सो सेनाले सार्वजनिक गरेको बर्दीलाई सामाजिक सञ्जालभरि खिल्ली उडाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनामा स्पेश फोर्सको गठन गरेका थिए । उक्त सेनाले आफ्नो ट्विटरमा नयाँ बर्दी सार्वजनिक गरेलगत्तै धेरैले त्यसलाई हास्यास्पद भन्दै खिल्ली उडाएका हुन् ।

अन्तरिक्ष सेनाले लगाउने बर्दी त फरक हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा सो बर्दीको आलोचना गरिएको थियो । हुन पनि उक्त बर्दी अन्य सेनाले लगाउने जस्तै जमिनमा आवरण लुक्ने प्रकारको छ । त्यसको छाती र पाखुरामा सेनाको चिह्न राखिएको छ ।

बिबिसीका अनुसार सो बर्दीमाथि प्रतिक्रिया लेख्दै धेरैले अन्तरिक्षमा बोटबिरुवामा लुक्न मद्दत गर्ने खालको बर्दीको के काम भनी कमेन्ट गरेर खिल्ली उडाएका हुन् ।

एक जनाले त ट्वीटमा प्रश्न गरेका छन्, ‘के उनीहरूले कहिल्यै अन्तरिक्ष देखेका छैनन् ?’

तर अमेरिकी अन्तरिक्ष सेनाले भने मितव्ययी बनेको भन्दै आफ्नो बर्दीको चयनलाई बचाउ गरेको छ । उसले हाल अमेरिकी सेनाको भएकै बर्दीको प्रयोग गरेर नयाँ बर्दी बनाउँदा लाग्ने खर्च जोगाएको भन्दै आफ्नो बचाउ गरेको हो ।

अमेरिकी रक्षा प्रणालीलाई विश्वको नवीनतम युद्ध क्षेत्रमा हुनसक्ने खतराबाट बचाउने उद्देश्यले राष्ट्रपति ट्रम्पले सन् २०१९ को डिसेम्बरमा अन्तरिक्ष सेनाको विशेष फोर्स गठन गरेका थिए ।

LIVE TV