महाभियोग लगाएर अमेरिकी जनतामा खतरनाक आक्रमण भयाे : ट्रम्पको कानूनी टोली



प्रकाशित मिति : Jan 19, 2020

एजेन्सी, ५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले महाभियोग मुद्दा लगाएर अमेरिकी जनतामा खतरनाक आक्रमण भएको टिप्पणी गरेकाे छ ।

महाभियोगको मुद्दामा पहिलो औपचारिक प्रतिक्रिया दिँदै कानूनी टोलीले ट्रम्पविरुद्धको आरोपलाई अमेरिकी जनतामा ‘खतरनाक आक्रमण’ भएको बताएका हुन् ।

उनीहरुले ६ पृष्ठको पत्रमा महाभियोग लेखले कुनै अपराधको आरोप लगाउन नसकेको र २०२० को चुनावमा हस्तक्षेप गर्ने ‘निर्लज्ज’ प्रयास भएको बाहेक अन्य विषय नसमेटिएको उल्लेख गरिएको छ ।

डेमोक्य्राट पार्टीले कारवाहीका लागि संक्षिप्त फाइल पेश गरेसँगै ट्रम्पको कानूनी टोलीले दिएको अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।

महाभियोगका विषयमा अर्को हप्ताबाट बयान सुरु हुनेछ । अमेरिकी इतिहासमा महाभियोग परीक्षणको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।

शक्तिको दुरुपयोग र कंग्रेसको अवरोधको आरोप ट्रम्पलाई लागेको छ । यसअघि, विपक्षी डेमोक्य्राटहरूद्वारा नियन्त्रित तल्लाे सदनले गत महिना राष्ट्रपतिलाई महाभियोग लगाउने निर्णय गरेको थियो ।

तर, ट्रम्पको रिपब्लिकन पार्टीले नियन्त्रण गरेको माथिल्लाे सदन सिनेटले उनलाई दोषी ठहराउने र पदबाट हटाउने निर्णय गर्नुपर्ने भएकाले याे पारित नहुने सम्भावना बढी छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com