नगरपालिकाले डेढ वर्षदेखि रोक्यो पोषण भत्ता, मुगुमा १२ वर्षदेखि जलविद्युत आयोजना अलपत्र (भिडियो)



प्रकाशित मिति : Jan 18, 2020

काठमाडौं, ०४ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै विभिन्न विषयमा सम्बन्धित निकाय/व्यक्तिसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. रौतहटको गौर नगरपालिकाले डेढ वर्षदेखि रोक्यो पोषण भत्ता !

रौतहट, ०४ माघ । रौतहटको गौर नगरपालिका–४ टिकुलियाका बालबालिकाहरु सरकारले तोकेको पोषणभत्ताबाट बञ्चित भएका छन् ।
उनीहरुले वि.सं.२०७५ सालदेखि हालसम्मको पोषणभत्ता बापत मासिक ४ सय रुपैयाँका दरले स्थानीय तहबाट पाउनुपर्ने रकम पाएका छैनन् ।

स्थानीय तहका जनप्रतिनिधिले नै भत्ता पाउनबाट बञ्चित गराएको उनीहरुको गुनासो छ । वडा अध्यक्ष भुवनेश्वर शाही, वडा सचिव कमला श्रीवास्तव र नगरपालिकाको सामाजिक सुरक्षा भत्ता संयोजक रोशनी श्रेष्ठलाई पटक–पटक यो विषयमा जानकारी गराउँदा पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

२. मुख्यमन्त्रीलाई चप्पल हान्ने प्रयास ! पैसा नपाएको भन्दै गुल्मीमा पनि बाटो भत्काए

काठमाडौं, ०४ माघ । भ्र्रष्टाचार कम हुने, स्थानीयलेनै काम गर्दा आयोजनामा स्थानीयको अपनत्व हुने भन्दै स्थानीय तहका अधिकांश योजनामा उपभोक्ता समितिलाई जिम्मा लगाइएको हुन्छ ।

साना आयोजनाहरु तुलनात्मक रुपमा निर्माण व्यवसायी मार्फत भन्दा उपभोक्ता समितिमार्फत काम गराउँदा समयमै सकिने, भ्र्रष्टाचार कम हुने, गुणस्तरीय पनि हुने हुन्छ । तर, जनकपुर र गुल्मीमा विकास आयोजनामा काम गरेको उपभोक्ता समितिले भुक्तानी नपाएपछि अचम्मको क्रियाकलाप देखाएका छन् ।

जनकपुरमा प्र्रदेश सरकारका विभिन्न मन्त्रालयबाट उपभोक्ता समिति मार्फत बनेका ८ सय ४२ योजनाको करीब ८७ करोड रुपैयाँ भुक्तान नभएपछि उपभोक्ता समिति आन्दोलित भएका छन् ।

आन्दोलित उपभोक्ता समितिका सदस्याहरुले गत शुक्रबार मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाललगाएतको तस्वीरमा जुत्ता प्र्रहार गर्ने प्रयास गरेका थिए ।

३. मुगुमा १२ वर्षदेखि जलविद्युत आयोजना अलपत्र

मुगु, ०४ माघ । दुर्गम जिल्लामा सरकारी तवरबाट सञ्चालित अधिकांश आयोजना अलपत्र अवस्थामा छन् । यसको एउटा उदाहरण हो, मुगुको छाँयानाथ रारा नगरपालिका–१४ मा अलपत्र रहेको दर्खे खोला जलविद्युत आयोजना ।

१२ वर्षअघि तत्कालीन जिल्ला बिकास समिति, उर्जा विभाग, साविकको रुगा गाविसको लगानीमा सुरु भएको जलविद्युत आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भएको थियो ।

तर, १० लाख बराबरको काम बाँकी हुँदा संघीयता कार्यान्वयन आएपछि आयोजनाको लागि बजेट विनियोजन हुन सकेन, जसको कारण निर्माण कार्य नसकिएको विद्युत निर्माण समितिका अध्यक्ष बमबहादुर बरुवाल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com