४ माघ २०७६, शनिबार

रौतहट, ०४ माघ । रौतहटको गौर नगरपालिका–४ टिकुलियाका बालबालिकाहरु सरकारले तोकेको पोषणभत्ताबाट बञ्चित भएका छन् ।

उनीहरुले वि.सं.२०७५ सालदेखि हालसम्मको पोषणभत्ता बापत मासिक ४ सय रुपैयाँका दरले स्थानीय तहबाट पाउनुपर्ने रकम पाएका छैनन् ।

स्थानीय तहका जनप्रतिनिधिले नै भत्ता पाउनबाट बञ्चित गराएको उनीहरुको गुनासो छ । वडा अध्यक्ष भुवनेश्वर शाही, वडा सचिव कमला श्रीवास्तव र नगरपालिकाको सामाजिक सुरक्षा भत्ता संयोजक रोशनी श्रेष्ठलाई पटक–पटक यो विषयमा जानकारी गराउँदा पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

पोषण भत्ता नपाएको बारे कुरा गर्दा उल्टै झपारेर पठाउने गरेकाले मिलेमत्तोमा पोषण भत्ता बापतको रकम हिनामिना भएको हुनसक्ने स्थानीयको आरोप छ ।

वडा कार्यालयले पोषण भत्ता पाउने सूचना जारी गरेपछि स्थानीयले २०७५ असार मै पोषण भत्ता कार्ड र गौरस्थित प्रभु बैकमा खाता समेत खोलेका थिए । तर, हालसम्म उक्त खातामा गौर नगरपालिकाले रकम जम्मा गरिदिएको छैन ।

यस विषयमा गौर नगरपालिका प्रमुख अजय गुप्तालाई जानकारी भएपनि कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ । यता सोही वडाका वडा अध्यक्ष भुवनेश्वर शाही भने पोषण भत्ता पाउनेहरुको नाम आफ्नो रेकर्डमा नभएकाले दिन नसकेको बताउँछन् ।

मानव विकास सूचांकमा पछि परेका जिल्लाका बालबालिकाहरुलाई सरकारले स्थानीय तह मार्फत पोषण भत्ता स्वरुप मासिक चार सय रुपैयाँ दिने व्यवस्था गरेको छ ।

प्रदेश नम्बर २ को रौतहट पनि यसको सूचिमा पर्छ । तर, गौर नगरपालिका वडा नम्बर ४ का बालबालिका भने सरकारले दिएको यस सुविधाबाट बञ्चित हुन पुगेका छन् ।

LIVE TV