पूर्वमा सस्तोमा खाना खुवाउने होडबाजी इनरुवा आइपुग्दा निःशुल्क मात्र बनेन, निरन्तरता पनि पाउँदै (भिडियो)



प्रकाशित मिति : Jan 18, 2020

काठमाडौं, ०४ माघ ।

१. पूर्वमा सस्तोमा खाना खुवाउने होडबाजी इनरुवा आइपुग्दा निःशुल्क मात्र बनेन, निरन्तरता पनि पाउँदै

पूर्वको शहरहरुमा अहिले सस्तोमा खाना खुवाउनेदेखि सित्तैमा खाना खुवाउने होडबाजी नै चलेको छ । सकारात्मक र सत्कर्मपूर्ण कार्य मानिएको यो अभियान विराटनगरबाट सुरु हुँदै गर्दा अहिले पूर्वका बिभिन्न शहर हुँदै इनरुवामा आइपुग्दा निशुल्क बनेको छ ।

विराटनगरबाट १० रुपैयाँमा सुरु गरिएको भरपेट खाना खुवाउने अभियान झापा पुग्दा पाँच रुपैयाँमा झर्दै गर्दा इटहरी आइपुग्दा १५ रुपैयाँमा उक्लियो तर इनरुवामा आइपुग्दा भने यो निशुल्कमा झरेको छ ।

इनरुवामा ३ दिनका लागि भनेर सुरु गरिएको अभियानमा दाताहरु थपिदै गर्दा र विभिन्न संघसंस्थाले पनि सहयोगी हात बढाउ्दा यस्लाई दीर्घरुपमा राख्ने सोंच पनि आयोजकले बनाएका छन् ।

समाजमा एकछाक खानाका लागि संघर्ष गर्नेहरुको संख्या अझै धेरै छ । कतिपय यात्राको क्रममा रहँदा खाना खाने खर्च समेत नभएर समस्यामा परेका हुन्छन् । यस्तैलाई लक्षित गरी सुरु गरिएको सस्तो एवं निःशुल्क खाना अभियानप्रति आम नेपालीले सकारात्मक प्रतिक्रिया समेत दिन थालेका छन् ।

समाजबाट धर्म हराएको छैन, समाजबाट दया र मायाको भाव हराएको छैन । र, नेपालीहरु धनका नभए पनि मनका धनी हुन्छन् भन्ने भनाइलाई पनि चरितार्थ गर्न यस्ता अभियान उदाहरणकोरुपमा पेश भएका छन् । पूर्वको यो सत्कर्म अब देशभर पुग्न आवश्यक छ ।

२. आन्तरिक पर्यटनलाई टेवा दिन होमस्टे संस्कार मौलाउँदो, उदयपुरको वेलका पनि सुरु

पर्यटन प्रवद्र्धनका लागि एवं आन्तरिक पर्यटनको स्थायी विकासका लागि होमस्टे लामो समयदेखि गतिलो माध्यम बन्दै आएको छ । बिभिन्न समुदायको संस्कार र संस्कृतिको बारेमा जानकारी मात्र नभइ ति समुदायको रहसहन र खानपिनको बारेमा पनि जानकारी दिन होमस्टे महत्वपूर्ण आधार बनेको छ ।

नेपालमा अहिले धेरै जिल्लामा होमस्टेको विकास भइसकेको छ । स्थानीय तहहरुले पनि अहिले होमस्टे प्रवद्र्धनका लागि आफुलाई सक्रिय बनाउँदै गर्दा नेपालमा आन्तरिक पर्यटन थप मौलाउने अवस्था देखिएको छ ।

उदयपुरको बेलका नगरपालिकाले पनि यही मेसोमा आफ्नो क्षेत्रमा पर्यटकको आकर्षण बढाउन मध्यवर्ती सामुदायिक होमस्टे नै सञ्चालनमा ल्याएको छ । होमस्टे रहेको १३ घरमध्ये चार घरमा थारु संस्कृति झल्किने, दुई घर नेवारको संस्कृति र बाँकी रहेका अन्य विविध समुदायको संस्कृति झल्किने होमस्टे सञ्चालनमा ल्याइएपछि बेलकामा पनि पर्यटक बढ्ने विश्वास गरिएको छ ।

३. झापाका व्यवसायिक पशुपालकहरु साइलेज प्रविधिको घाँस भित्र्याएर दूग्ध उत्पादन वृद्धि गर्दै

व्यवसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दै गर्दा कृषकहरु पनि पशुपालनमा प्रविधियुक्त विकासतर्फ तानिएका छन् ।

पशुपालनमा बिभिन्न प्रविधिहरुको प्रयोग गर्न थालेका झापाका किसानहरुले अब गाईभैसीलाई खुवाइने घाँसमा पनि प्रविधिको प्रयोग थालेका छ । कृषकहरुले साइलेज प्रविधिको घाँस भित्र्याएर दूग्ध उत्पादनमा बढावा दिन थालेका छन् ।

हरियो घाँसलाई गुन्द्रुक जस्तै प्रक्रियाबाट बनाइने साइलेज घाँस पशुलाई खुवाउँदा दूध उत्पादनमा वृद्धि भएपछि विशेषगरी व्यवसायिक रुपमा दुग्ध उत्पादक कृषक यसप्रति आर्कर्षित भएका हुन् ।

साइलेज घाँस उत्पादन गर्न उपयुक्त भएकाले यो प्रविधि पशुपालक तथा दूग्ध उत्पादक कृषकको रोजाईमा समेत पर्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com