४ माघ २०७६, शनिबार

एजेन्सी, ४ माघ । चीनले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडियो टेलिस्कोप पूर्णरूपमा सञ्चालनमा ल्याएको छ । चिनिया अधिकारीहरुका अनुसार यो टेलिस्कोप यही जनवरी १२ देखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

दक्षिण चीनका पहाडहरूको बीचमा अवस्थित यो टेलिस्कोप टाढा माथिबाट हेर्दा एउटा ठूलो कचौरा आकाशतिर फर्किएकोजस्तो देखिन्छ । यसको औपचारिक नाम ‘फाइभ हन्ड्रेड मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप’ राखिएको छ । छोटकरीमा यसलाई एकएएसटी अर्थात् ‘फास्ट’को नामले चिनिन्छ ।

बिबिसीका अनुसार यसलाई चीनले भने आफ्नै उपनाम पनि दिएको छ । त्यो हो, ‘आकाश आँखा’ । आकाश आँखाले ब्रह्माण्डका सबैभन्दा पर र अँध्यारो किनाराहरूका सूचना समेत दिन सक्छ ।

यस टेलिस्कोपको व्यास मात्र ५०० मिटर रहेको छ । यो सञ्चालनमा आउनुअघि अमेरिकाको पुएर्टो रिकोमा रहेको विश्वको ठूलो टेलिस्कोपको व्यास ३०५ मिटर मात्रै रहेको छ । चीनले बनाएको फास्ट टेलिस्कोप विश्वकै ठूलो मात्रै नभई अहिले विश्वमा भएका सबै रेडियो टेलिस्कोपभन्दा पनि २.५ गुणाले बढी संवेदनशील र शक्तिशाली छ ।

चीनले फास्ट टेलिस्कोपको निर्माण सन् १९९० को दशकमा शुरू गरेको थियो भने सन् २०१६ मा लगभग निर्माण कार्य सकेको थियो । सन् २०२० को जनवरीदेखि यो पूर्णरुपमा सञ्चालनमा आएको छ ।

परीक्षण कालमा फास्टले १०२ नयाँ पल्सर भनिने केही अन्तरालमा तरङ्ग छोड्ने एक प्रकारको घुम्ने तारा पत्ता लगाएको जनाइएको छ । यसका निर्माताहरूले यसले ब्रह्माण्डको उत्पत्ति र विकासको प्रक्रियाबारे नयाँनयाँ कुरा पत्ता लगाउने अपेक्षा राखेका छन् ।

LIVE TV