४ माघ २०७६, शनिबार
  • कृष्णाकुमारी चाैलागाईं

शनिबारको दिन, चिसो मौसम । पुषको आकाश खुल्न सकेको थिएन । गैरसरकारी संस्थामा काम गर्ने भएकोले मेरो बिदा शनिबार र आइतबार दुई दिन हुन्थ्यो । तर, त्यस दिन विशेष कामले म अफिसमा नै थिएँ । सम्भवतः मिटिङ चलिरहेको थियो । अपरिचत नम्बरबाट फोन आयो । मिटिङमा भएकोले फोन उठाउन सम्भव थिएन । लगातार ३–४ चाटि फोन आएपछि केही इमरजेन्सी नै होला भन्ने सोचेर उठाएँ ।

यताबाट ‘हेलो’ भन्न नपाउँदै उताबाट चर्को स्वार सुनियो, ‘केहो ठुलो मान्छे ? फोन उठाउन नै गाह्रो छ त !’

कताकता परिचितजस्तै लाग्यो त्यो स्वर । तर कसको हो भन्ने यकीन गर्न सकिनँ ।
को हो भन्नेतिर मैले चासो राखिनँ । ‘म अहिले बिजी छु, पछि फोन गर्छु’ भनेर फोन राखेँ ।
–––

घडीको घण्टा–सुईले दई फन्को मारिसकेछ । पुनः उही नम्बरबाट फोन आयो । पछि फोन गर्छु भनेका थिएँ, बिर्सिएछु ।

मैले लामो ‘हेलो..’ भनेँ । उताबाट प्रश्न तेर्सियो, ‘फुर्सद भयो ?’

आफैँलाई अप्ठ्यारो लाग्यो । कतै मेरो बेवास्ताको मजाक त उठाइएको हैन ? तर आफैँले आफैँलाई के नचिनेका मान्छे जतिलाई फोन गर्ने ठेक्का मैले नै लिएको छु र !
अपरिचित भएर पनि परिचतजस्तै लाग्ने स्वर थियो त्यो । असहज मान्दै सोधेँ, ‘को हो, चिनिनँ नि ।’

‘राहुल !’ कत्ति पनि नहिच्किचाईकन उसले उत्तर दियो । एकछिन त पत्याउनै मुस्किल प¥यो । के एक्स ब्वाईफ्रेन्डले अहिलेसम्म पनि एक्स गर्लफ्रेन्डको नम्बर ‘सेभ’ नै गरेर राखेको होला त !

‘कता हुनुहुन्छ ? समय छ भने म भेट्न आउछु,’ म सोचमग्न हुँदै ऊ फेरि बोल्यो । मैले पनि विनाइन्कार अफिसमै बोलाएँ ।
–––

राहुल । करिब ३ वर्षअगाडिसम्म मैले प्रेम गरेको मान्छे ।

एकाएक गायब भएको केटा । जीन्दगीको यात्रामा संगै यात्रा गर्छौं भनी कसम खाएको एक सहयात्री । भरोसाको एक पहाड थियो कुनै समय । तर अहिले एक नदीको अर्को किनार भइसकेको मान्छे ।
हामी छुटेको ३ वर्षपछि उसलाई किन मलाई भेट्नु परेछ ? अन्तर्मनमा द्वन्द्व चल्न थाल्यो ।

नभन्दै राहुल मेरो कार्यालयमा आइपुगेछ । फोन गर्यो, ‘म तपाईंले दिएको लोकेशनमा आइपुगेँ ।’
अफिसको झ्यालबाटै चिहाएँ उसलाई । पल्सर २२० पल्सर लिएर आएको रहेछ । जाडोमा लगाएको मोटो ज्याकेटमा पनि कस्तो ख्याउटे देखिएको !

तल झरेँ । अफिस नजिकैको कफी–सपमा पस्यौँ । धेरै बेर एक–अर्कालाई नियाल्ने बाहेक कुनै क्रिया–प्रतिक्रिया हामीबीच भएन । कसैको मुखबाट एक शब्द निस्कने छाटै देखिएन । वरिपरिको कल्याङमल्याङबीच हाम्रो मौनता खल्लो भइरह्यो ।

निकै बेरपछि उसले मुख खोल्यो, ‘यहीँ हो तिम्रो अफिस ?’

मैले ‘हो’ को भावमा टाउको मात्र हल्लाएँ । ऊ सँग बोल्नको लागि मेरो मखबाट अझै शब्द निस्कन सकेन ।

सायद ऊ पनि शब्द खोज्दै थियो । केही बेरको गम्भीरतापछि उसले भन्यो, ‘मोटाएछौ त । प्रगती पनि राम्रै गरेछौ नि । म तिम्रो फेसबुकमा फलो गरिरहेको हुन्छु ।’

उसको बोली सकिन नपाउँदै सोधेँ, ‘किन फलो गछौ हँ ? हामी दुई तीर भइसकेका मान्छे । तिम्ले त बिहे पनि गरेछौ नि । त्यो पनि मेरै गाँउको केटीसँग । मेरै छिमेकी । मानौँ कि मेरै घाउमा नून छरेजसरी ।’

ऊ एकैछिन त अकमकियो । अनि भन्न थाल्यो, ‘धोका तिमीले दियौ । मैले केको घाउ बनाएँ र ? तिमीलाई कुरेकै थिएँ लामो समय । सोही सिलसिलामा भेटिएकी थिइन्, देवु । तिम्री छिमेकी ।’
–––

बिस्तारै ऊसँग गफिन थालेँ म । निकालेँ मनको भँडास । धेरै प्रश्नको उत्तर पाएर फर्कनु थियो मलाई । उसलाई पनि धेरै कुराको उत्तर दिनु थियो ।

‘के धोका मबाटै भएको थियो त ?’ मेरो प्रश्नले ऊ गमक्क परेजस्तो देखियो ।

भन्न थाल्यो, ‘हो तिमीले नै बीच बाटोमा अलपत्र छाडेकी थियौ । तिमीबाट मलाई यो अपेक्षा छँदै थिएन । जतिबेला जुन स्थानमा छाडेको थिएँ, म फर्किंदा तिमी उस्तै थिएनौ । सोचेको थिएँ– नौ महिनापछि म आउँदा तिमीले मसँग झगडा गर्नेछौ होला । कारण सोध्नेछौ । तर त्यसो केही भएन । तिमी त झन मौन रह्यौ । त्यो मौनतालाई मैले आफ्नै हिसाबले बुझेँ ।
…तिमीलाई भेट्न मैले धेरै कोसिस गरेको थिएँ । तर अन्तिममा हार मानेर मेरो भाग्यमा नभएकी सुजु भन्न विवश भएँ ।’

एकै स्वासमा पोखिएको उसको एकतर्फी जवाफले मलाई चित्त बुझ्दै बुझेन । फेरि प्रश्नले घोचेँ, ‘नौ–नौ महिनासम्मको सम्पर्कविहिनता ? कुनै सल्लाहविनाको तिम्रो जागिर ? कुनै समय भनेका थियौँ तिमीले– म जागिरमा जाँदैछु, सम्पर्क हुन्न भनेर ?’

अब ऊ नाजवाफ भयो । फेरि सोचेँ, ‘अझ तिम्रो प्रेमविवाह मेरै गाँउकी केटीसँग, के जवाफ दिन्छौ अझै मलाई !’

ऊ झोक्राएजस्तो मौन बसिरह्यो ।

मैले कुराको पोको खोतलिरहेँ, ‘जब तिमी नौ महिनापछि घर फर्कियौ, अरुको मुखबाट सुनेँ कि तिमी पनि नेपाली सेनाको जागिरे भयौ । के तिमीले आफ्नो जिम्मेवारी निभायौ ? पलपलको खबर दिने तिमी जागिरमा गएपछि किन दिएनौ ? अरुसँगै प्रेम ग¥यौ, विवाहमा निम्तो पठायौ । त्यो पनि मेरो नामको अगाडि डियर जोडेर । अनि भन आफैँ, मैले के बुझ्ने यसलाई ?’

बल्ल उसको बक फुट्यो, ‘हो मैले विवाह गरेँ । त्यो पनि तिम्रै छिमेकी केटीसँग । तिम्रो मौनताको गलत अर्थ लगाएँ मैले । भन्नेले सुनाएँ– तिम्रो मन बदलिएको छ भनेर । त्यसमाथि तिमीले मलाई समय दिनै सकेनौ । हामीबीच ठुलै मिस–अन्डरस्टाडिङ्ग भएछ । थाहा छ, मबाट विछोडिएपछि तिमीले विवाह नगर्ने निर्णय लिएकी छौ । वचनमा तिमी साँच्चै पक्का रहेछौ, म कच्चा निस्किएँ । सजाय त मैले नै भोगिसकेको छु, सुजु ।’

एकछिनको भावुकतापछि ऊ फेरि बोल्यो, ‘तिम्रो मौनतालाई गलत बुझेछु, मलाई माफ गर । म अब रित्तिसकेँ । तिम्री छिमेकी केटी अर्थात् मेरी पत्नीले मसँग डिभोर्स मागी ।’

यति सुनाइरहँदा उसका गहभरि आँसु टिलपिलाए । आँसु पुछ्दै भन्यो, ‘त्यो सम्बन्ध व्यर्थ थियो । त्यो प्रेम, प्रेम थिएन ।’
–––

मैले बुझेअनुसार उसकी श्रीमती जापान गएको पनि एक वर्ष भएको थियो । उसको ससुराली र मेरो घर तल्लो–माथ्लो न थियो । उसको बिहेमा हामीलाई ‘चुल्हेनिम्तो’ थियो । बुवाले बिहेमा मलाई नै जान भन्नुभएको थियो । साइनोले बहिनी थिई देवु, ऊ चैँ ज्वाइँ बन्यो । एकमनले जाऊँ कि केहो भनेजस्तो झोँक चले पनि जानलाई खुट्टा अगाडी बढ्न सकेन । बुबालाई नै पठाएँ । बेलुका आएर बुवाले खाना खानेबेला भन्नुभएको थियो, ‘केटो असल छजस्तो छ हेर्दा त । राम्रो ज्वाइँ पायो हरिले ।’
बुवाको त्यो बोली किन–किन मलाई नै घोच्नका लागि बोलेजस्तो लागेथ्यो त्यतिबेला ।

त्यसपछि मैले केयर गर्न छोडेँ, उनीहरूको थप कुुरा मलाई पत्तो थिएन । गाँउघरमा छोरी–ज्वाइँको सम्बन्धको विषयमा राम्रै चर्चा सुनिएको थियो । तर सम्बन्ध बिग्रिएको विषयमा खासै सुनिएकी थिइनँ । हुन त सुन्ने कुरा पनि होइन ।

डिभोर्स नै हुनेसम्मको कुरा अचानक उसैको मुखबाट सुन्दा मन थप अमिलो हुँदै गयो । झट्ट पत्यार पनि लागेन ।

कफीसँगै नुनिलो आँसु पियौँ दुवैजनाले । जति गुनासो गर्छु भन्ने सोचेर भेट्न पुगेकी थिएँ, उसको जीवनमा लागेको ठेस देखेर मुटुमा नै ठेस लाग्यो ।
–––

हामी नातेदारीमा मज्जैले जेलिएका थियौँ । मेरो फुपुको छोरा (भाइ) ले उसैकी साली पर्नेलाई बिहे गरेको थियो । उसको मामाको छोरा र मेरो मामाको छोरीबीच विवाह भएको छ । चाँडबाडमा उसलाई भेटिन्छ भनेर म आफन्तकोमा जादिनँथे । ऊ मलाई देख्न पाइन्छ कि भनेर मेरै घरको बाटो हिड्थ्यो रे !

कफी पार्दै उसले भन्यो, ‘दुःखको पहाड चढ्ने बेलामा तिमीलाई सम्झेको हुन्छु । यो दुःख पनि तिमीसँग सेयर गर्दा कम हुन्छ कि भन्ने लागेकाे थियो । यी तीन वर्षमा खाएका ठक्करहरूले मेरो मुटु ढुङ्गाजस्तै भएकाे छ ।’

यी सब सुनिरहँदा आज उसको दुःखमा मेरो आँसुको मुल फुट्न सकेन । अरु बेलामा सानो कुरामा पनि भावुक हुने म उसको यत्ति ठुलो कुरामा किन भावुक बन्न सकिरहेकी थिइनँ ? म आफूलाई आफैँदेखि अचम्म लाग्दै थियो । उसको आँसुमा आँसु मिसाउन सकिरहेकी थिइनँ, न त हाँस्न सकेकी थिएँ ।

ऊ मबाट के चाहन्थ्यो र यी सब कुरा बताइरहको थियो ? तर मैले सान्वनासमेत दिन सकिनँ । मात्र मुर्तिवत् उसका कुरा सुनिरहेँ । चेहरा नियालिरहेँ ।

कफी सकिनै लागेको थियो । उसैले फेरि त्यो तितो पल सम्झायो, ‘जतिबेला हामी एक–अर्कालाई मध्यरातिसम्म फोन गरेर बस्थ्यौँ, कविताहरु सुनाउथ्यौँ । मलाई अझै पनि याद छ, मैले अन्तिम फोन संवादमा भनेको कविता– फ्यान्टा इज फ्यान्टा नट अ कोक, लव इज लव नट अ जोक । साँच्चै नै मायालाई मजाकको विषयको रुपमा हेर्यो भने त जिन्दगी नै मजाक बनिदिँदाे रहेछ ।’

मलाई थप सुन्न पनि गाह्रो भइसकेको थियो । घडी हेर्न थालेँ । सायद उसले मेरो समयको पावन्दीलाई बुझेको थियो, जाऊँ भन्ने भाव देखायो ।

जाँदाजाँदै अन्तिममा भनेँ, ‘सकेसम्म तिमीहरु सम्बन्ध सुधार गर्नतर्फ लाग है ! जिन्दगी छोटो छ, यो त मजाक होइन ।’

LIVE TV