४ माघ २०७६, शनिबार

विराटनगर । झापाको मेची नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन तीव्र छ। मेचीनगर नगरपालिकाले यो क्षेत्रमा लामो समयदेखि नदी उत्खननमा रोक लगाएको थियो । तर, उत्खनन रोकिएको छैन। मेचीनगर १ को यो चुरे क्षेत्र हो । चुरेमा भइरहेको चरम दोहनबारे स्थानीयले पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि रोक्न चासो दिएको छैन।

इलामको रोङ गाउँपालिकाले ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएको स्थानमा उत्खनन नरोकिएपछि सलकपुर गाउँका स्थानीयले सिद्धि नहरको गेट बन्द गरे। असोज पहिलो सातादेखि नै यस क्षेत्रमा स्थानीय तहले चासो नदिँदा नागरिकले नै नहर बन्द गरे। झापाको मेचीनगर र इलामको रोङ गाउँपालिकाको सिमानामा देखिएको समस्या समाधानमा झापाकै स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेको रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार तामाङले बताए।

मोरङको चुरे क्षेत्रमा ढुंगा, गिट्टी र नदीजन्य सामग्री दोहन भइरहँदा पनि अनुगमन गर्नुपर्ने निकाय चुप छन्। लेटाङ नगरपालिकाको १ र ६ मा पर्ने चुरे क्षेत्रबाट निर्वाध ढुंगागिट्टी उत्खनन भइरहेको छ। लेटाङकै चिसाङ खोलाबाट तोकेभन्दा तेब्बर बढी नदीजन्य सामग्री उत्खनन गरिएको छ। दोहन रोक्न जनप्रतिनिधिको समेत मिलेमतो रहेको स्थानीय बासिन्दाको आरोप छ।

चुरे विनाशबाट उदयपुर पनि अछुतो छैन। उदयपुरको सबैभन्दा ठूलो नदी त्रियुगामा २०४५ साल भदौमा आएको बाढीले खेत बगाउँदा स्थानीय केही परिवार सुकुम्बासी बने। सबै जग्गा बाढी र बालुवाले पुर्दा सुकुम्बासी बनेका सुन्दरपुर ५ खेराटोलका ९० वर्षीय गणेशप्रसाद सुवेदी चुरे दोहनको क्षति आफूले बेहोर्नुपरेको गुनासो गरे। नदी आसपासको चुरे क्षेत्रको दोहनले यस्तो क्षति बढाइरहेको छ। ०३० देखि ०७६ को अवधिमा चुरे वन विनाशलगायत वातावरणमा पर्न गएको असरका कारण यो स्थिति सिर्जना भएको स्थानीय बुद्धिजीवी ईश्वर तामाङले बताए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

LIVE TV