३ माघ २०७६, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, माघ ३ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताएका छन् । पार्टीले आजबाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेको बताए।

उनले भने,‘ मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मागेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’संविधानको संशोधन नभए सम्म मधेशी ,आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्दै उनले त्यसको लागि पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको बताए ।

अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले अभियानमा नजुट्ने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने भन्दै सचेत समेत गराए । कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभए सम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गरे । उनले पार्टी भित्र रहेको गुट उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढि करणमा जुटन निर्देशन दिए ।

LIVE TV