
- कविन्द्र शेर्मा
पाँचथर, ०३ माघ । सुख्खा क्षेत्र घोषणा गरिएको पाँचथरको कुम्मायक गाउँपालिकाको वडा १ यासोकका स्थानीयलाइ पायक पर्ने गरी विभिन्न समुह बनाएर निशुल्क रबरको ड्रम बितरण गरिएको छ ।

गाउँपालिका कार्यालयले पानीको अभाबका कारण समस्या झेलिरहेका स्थानीयलाइ पानी संकलन गर्न सहज होस भनेर एक कार्यक्रमको आयोजना गरेर आज ड्रम वितरण गरेकोे हो ।
कुम्मायक गाउँपालिका १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीका अनुसार यो क्षेत्रमा ९० वटा ड्रम वितरण गरिएको छ । यो क्षेत्रमा खानेपानीको हाहाकार भएपछि अधिक रुपमा बसाइसराइ जानेको दरसमेत बढेको थियो ।

तर पछिल्लो समय उक्त क्षेत्रमा कुम्मायाक गाउँपालिका १ वडाले स्थानीयलाइ खोलाको पानी ट्याक्टर बाट ढुवानी गरेर खाने पानी बितरण गर्दै आएको छ ।
ड्रम पाएपछि स्थानीयले खुसी हुँदै केहि दिनसम्म पानी संकलन गर्न सकिने हुनाले बिवाह, भोज र मेला लाग्दा समेत पानीको अभाव टार्न सकिने प्रतिकृया दिएका छन् ।

कुम्मायाक गाउँपालिका प्रमुख जय बहादुर चेम्जोङले खानेपानी भण्डारण गरेर जीवन यापन गर्न जनतालाई सहज हुने भएकोले याे कार्यक्रम राम्रो भएको बताउनु भयो ।