३ माघ २०७६, शुक्रबार

काठमाडाैँ, ३ माघ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित बालुवाखानी चाेकमा निशुल्क स्वास्थ्य शिविर हुने भएकाे छ ।

बालुवाखानी हेल्थ केयर सेन्टर प्रालिकाे आयाेजनामा भाेलि शनिबार हुन लागेकाे निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, बालरोग, प्रसुति, स्त्री तथा निःसन्तान, हाडजोर्नी तथा नशा, दन्तरोग, फिजियोथेरापी सेवा, सामान्य ड्रेसिङलगायतको सेवा उपलब्ध गराइने हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले बताए ।

अधिकारीका अनुसार स्वास्थ्य शिविरमा ई.सि.जि, डिजिटल एक्स-रे सेवामा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।

शिविरमा सिनियर कन्सल्टेन्ट डा. एसबी खड्का, बालरोग विशेषज्ञ सिनियर कन्सल्टेन्ट गणेश श्रेष्ठ, सिनियर कन्सल्टेन्ट श्रीप्रसाद अधिकारी, डा अनिल कुमार गुप्ता, डा सजनी बस्नेत नेपाल लगायतको चिकित्सकीय टोलीले सेवा दिने शिबिर संयोजक विष्णु गिरीले जानकारी दिए ।

सञ्चालक गोपाल केसीका अनुसार स्वास्थ्य शिविरमा आएका सेवाग्राहीको चिकित्सकको सल्लाह अनुसार सुगरको निःशुल्क जाँच तथा प्याथोलोजी ल्यावमा ३० प्रतिशत छुटको व्यवस्था गरिएकाे छ । उनले शिविरमा करिब ५०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने तयारी रहेको जानकारी दिए ।

शनिबार बिहान ९ बजेदेखि शुरु हुने शिविर दिनको २ बजेसम्म सञ्चालन हुनेछ । बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशित रूपमा बिरामी हुने क्रम बढिरहेको र त्यस्ता स्वास्थ्य समस्यालाई समाधान गर्ने परामर्श सेवा पनि शिविरमा उपलब्ध गराइने बताइएकाे छ । शिविरबाट बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०, ११ र १२ का जनता लाभान्वित हुने अपेक्षा गरिएकाे छ ।

LIVE TV