२ माघ २०७६, बिहीबार

काठमाडौं, ०२ माघ । नेपालमा सरकारी कार्यालयमध्ये सबैभन्दा बढी गुनासो आउने कार्यालयमा श्रम कार्यालय पनि पर्छ ।

जहाँ प्रत्येक दिन सेवाग्राहीले कुनै न कुनै समस्या भोगिरहेकै हुन्छन् । साथै यस कार्यालयमा सेवाग्राहीसँग घुससमेत माग्ने गरिन्छ ।

कञ्चनपुरका गोकर्णनाथ श्रम अनुमति लिन दुईदिन श्रम कार्यालय ताहाचल धाए । उनले आफ्नो क्यामेरा अन गरे, त्यसपछि कर्मचारीलाई किन श्रम स्वीकृति नभएको ? भनेर प्रश्न गरे ।

ती कर्मचारीले ‘सर्भर डाउन’ भएको कारण काम नभएको, भन्ने जवाफ दिए । ती कर्मचारीले सर्भर बनेपछि मात्रै सेवा मिल्ने भन्दै कार्यालय प्रमुखसँग गुनासो राख्न भने । गोकर्णनाथ कार्यालय प्रमुखको कार्यकक्षामा जाँदा कार्यालय प्रमुखनै थिएनन् ।

उक्त भिडियो हामीलाई पठाएपछि आफ्नै प्रदेशबाट श्रम स्वीकृति लिने भन्दै उनी घरतिर लागे । गुनासो आएको भोलिपल्ट हाम्रो टिम श्रम कार्यालय ताहाचल पुग्यो । त्यसको पर्सीपल्ट पनि समस्या उस्तै थियो ।

श्रम स्वीकृति लिन आएका सेवाग्राहीहरु निराश हुँदै घर फर्कन बाध्य थिए । हाम्रो टिम रिपोर्टिङका लागि श्रम कार्यालय ताहाचल पुग्दा हाम्रो क्यामेरामा सेवाग्राहीले आक्रोश पाखे ।

श्रम स्वीकृति लिन आएका सेवाग्रहीको भिडमा थिए, महोत्तरीका ६४ वर्षीय मनिर मियाँ । उनी बैदेशिक रोजगारीको लागि साउदी अरब जाँदै थिए । उनी बिहानदेखि श्रम स्वीकृति लिने लाइनमा थिए । तर, कर्मचारीले सर्भर डाउन भएकाले काम नहुने बताएपछि अलमल्ल परेर बसेका थिए ।

श्रम कार्यालयमा श्रम स्वीकृति लिन आएका मध्ये केहीको त प्लेन टिकट नै क्यान्सिल भइसकेको छ । केहीको फ्लाइटको समय हुन लागेको थियो । तर, श्रम स्वीकृति नपाएकाले उनीहरु पनि श्रम कार्यालयमै सर्भर कहिले बन्ला भन्दै कुरेर बसिरहेका थिए ।

श्रम स्वीकृति नभएकै कारण धेरै सेवाग्राहीको टिकट क्यान्सिल भइसकेको छ । उनीहरुले फेरि अर्को टिकट काट्नुपर्ने हुन्छ । सरकारी निकायको गल्तीले उनीहरुको टिकटमा डबल पैसा खर्च हुन्छ ।

यस विषयमा हामीले श्रम कार्यालयका प्रमुख देवेन्द्र कार्कीसँग बुझ्ने प्रयास ग-यौं । उनले यो आफ्नो क्षेत्रमा नपर्ने भन्दै गैरजिम्मेवारी जवाफ दिए । श्रम कार्यालयमा देखिएको समस्या कसरी श्रम कार्यालयका प्रमुखको क्षेत्रमा परेन ? भनेर हामी अचम्ममा प-यौं ।

श्रम कार्यालयको समस्या देखाएको यो पहिलो पटक भने होइन । कर्मचारीले खुलेआम घुस लिएको विषयमा पनि हामीले पटक–पटक रिपोर्ट प्रस्तुत गरिसकेका छौं ।

LIVE TV