२ माघ २०७६, बिहीबार
  • उत्तम पौडेल,

पोखरा, ०२ माघ । ‘बगर भाई खलक’ पोखराले पुरस्कार राशि बढाएर ‘नवौ बगर भाई खलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता–२०७६’को आयोजना गर्ने भएको छ ।

विहीबार पत्रकार सम्मेलन गर्दै बगर भाई खलक पोखराले सो विषयमा जानकारी दिएको हो । स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम भन्ने मुल नाराका साथ वि.सं.२०६८ सालबाट भेट्रान कप सुरु गर्दै आएको भाई खलकले यो वर्ष पुरस्कार राशि पनि बढाएको छ ।

यही माघ ६ गतेदेखि ११ गतेसम्म पोखराको टुडिखेलस्थित राष्ट्रिय माविको खेल मैदानमा सञ्चालन गरिने उक्त प्रतियोगितामा ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीहरुले भाग लिदै आएका छन् ।

प्रतियोगितामा पहिलो हुनेलाई रु १ लाख ११ हजार, सिल्ड, पदक र प्रमाण–पत्र प्रदान गरिने छ । त्यस्तै द्वीतिय हुनेलाई रु ५५ हजार ५ सय ५५, ट्रफी, पदक र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

साथै यसै वर्षदेखि सेमीफाइनलमा पुग्ने टिमलाई प्रोत्साहन स्वरुप रु १० हजार प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित नगद रु ५००० प्रदान गरिनेछ । सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफी सहित रु १० हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको तथा १३ वटा उपसमिति समेत गठन गरिएको बगर भाई खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

पूर्व खेलाडीहरुलाई सम्मान गर्दै आएकोमा यस वर्ष पूर्व अन्तर्राष्ट्रिय खेलाडी, पूर्व राष्ट्रिय मुख्य प्रशिक्षक एवं भूपु खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाटलाई ताम्र–पत्र एवं दोसल्लाले सम्मान गरिएको थियो ।

प्रतियोगितालाई स्व.रन्जित गुरुङको परिवारले गएको केही वर्षयता प्रायोजकको रुपमा सहयोग गर्दै आइरहेको छ ।

LIVE TV