२ माघ २०७६, बिहीबार

एजेन्सी, २ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएसँगै उनको नेतृत्वमा रहेको सरकार विघटन भएको छ । राष्ट्रपति पुटिनले गरेको प्रस्ताव पारित भएमा सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुनेछ । यसले शक्ति राष्ट्रपतिकाे हातबाट संसदमा जानेछ ।

राजीनामा दिएका मेदभेदेवले प्रस्तावित परिवर्तन लागु भएमा संविधानका सबै धारा फेरिने, सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने बताएका छन् । उनले कार्यकारी शक्ति, संसदीय शक्ति, न्यायपालिकाको शक्ति सबैमा परिवर्तन हुने कारण देखाउँदै राजीनामा दिएका हुन् ।

राष्ट्रपति पुटिनको प्रस्तावमाथि सर्वासाधारणले आफ्नो मत दिने छन् । सर्वसाधारणले प्रस्ताव पारित गरेमा सत्ताको शक्ति राष्ट्रपतिबाट संसदमा जानेछ ।

पुटिनले प्रधानमन्त्रीबाट राजीनामा दिएका मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषदको उपाध्यक्ष बनाउने बताएका छन् । पुटिनले मेदभेदेवलाई प्रधानमन्त्रीबाट किन हटाएका हुन् भन्ने स्पष्ट भएको छैन । तर उनी आफू लामो समय रुसको शक्तिमा रहनका लागि यस्तो गरेको विश्लेषण पनि गरिएकाे छ ।

LIVE TV