१ माघ २०७६, बुधबार
  • अभिमन्यू लामिछाने

उदयपुर, १ माघ । उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा त्रिवेणी मेला सुरु भएको छ । माघ १ गतेदेखि १५ दिनसम्म लाग्ने त्रिवेणी मेला सुरु भएको हो ।

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले ‘मैनी मेला’लाई त्रिवेणी मेलाको रुपमा परिचित छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको मेला व्यवस्थापन आयोजक समितिका अध्यक्ष केशब धमलाले बताए ।

बुधबार विहानदेखिनै त्रिवेणीधाममा मकर नहुँउनेको भीड लागेको छ । तीन नदीको संगमस्थल त्रिवेणीमा विभिन्न जिल्लाबाट मकर नुहाउन आउने गरेको स्थानीय युवा सुवास कटुवाल बताउँछन् ।

‘मकर स्नान गरी भाकल गरेअनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।’ कटुवालले भने, ‘देशका पूर्वी विभिन्न जिल्लादेखि भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेका छन् ।’

१५ दिनसम्म लाग्ने त्रिवेणी मेलाको आकर्षण सोलखुम्बुको भोटे कुकुर र ओखलढुंगाको राढीपाखी मुख्य आर्कषण हुने गरेको छ ।

पूर्वाञ्चल तथा प्रदेश १ कै पूरानो र लामो समय लाग्ने यस मेलालाई व्यवस्थित बनाउन लागिपरेको कटारी-२ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए । उनले भने, ‘त्रिवेणीमा आज बिहानैदेखि मकर नुहाउनेहरुको घुइँचोसमेत लागेको छ ।’

नगरपालिकाले यो मेलालाई भ्रमण वर्ष-२०२० लाई मध्यनजर गरेर मेला व्यवस्थापन गर्न लागिपरेको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

सिन्धुली र उदयपुरको सीमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगम स्थल त्रिवेणीघाटमा गएको वर्ष दुवै साइडमा मेला लागेको थियो । यस वर्ष उदयपूरतर्फ मात्र मेला लागेको मेयर श्रेष्ठले जानकारी दिए ।

LIVE TV