१ माघ २०७६, बुधबार

काठमाडाैं, ०१ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा एक समुदायले मनाउने पर्वलाई अर्को समुदायले सम्मान गर्ने प्रचलन रहेको बताउनुभएको छ ।

मकर सङ्क्रान्ति, माघीजस्ता नाममा मनाइने विभिन्न समुदायको प्रमुख चाडका रुपमा रहेको माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशन गरी उहाँले नेपाललाई विविधताका बीचमा एकता भएको देशका रुपमा व्याख्या गर्नुभएको छ ।

सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरिएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच एकता भएको देश हो”, सन्देशमा भनिएको छ । ‘माघे सङ्क्रान्ति’, ‘मकर सङ्क्रान्ति’, ‘माघी’ इत्यादी नामले चिनिने नेपालीको एक प्रमुख चाड हो । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा माघे सङ्क्रान्ति पर्व सबैले मनाउने गरेको पाइन्छ ।

तराईका जिल्लामा मैथिलीले ‘तिला सङ्क्रान्ति’ पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लडडुुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ ।

सांस्कृतिकरुपमा नेपालमा मनाइने हरेक पर्वले विशेष महत्व बोकेका छन । एक समुदायले अर्को समुदायले मनाउने पर्वलाई सम्मान गर्ने प्रचलन पुरानो हो । “हामीले यस्तो परम्परा भविष्यसम्म पनि अनुशरण गर्दै जानुपर्छ, सम्पूर्ण वाग्मती प्रदेशवासीलाई माघे सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ ।

LIVE TV