
काठमाडौं, २९ पुष । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लागेसँगै सभामुख पद रिक्त भएको आज साढे तीन महिना पुगेको छ ।
अब सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाले निर्णय लिन नसक्दा प्रतिनिधिसभाको हिउँदे अधिवेशन तेस्रो पटक स्थगित भएको छ ।
अबको सभामुख आफू हुनुपर्ने दृढ अडानमा छिन्, उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे । यसअघि पूर्व एमालेको तर्फबाट तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्, भने कृष्ण बहादुर महरा पूर्व माओवादीका तर्फबाट सभामुख बनेका थिए ।
दुवै पार्टी एकतापछि नेकपा भएको छ । संवैधानिक व्यवस्था अनुसार उपसभामुख र सभामुख दुई फरक पार्टीको हुनुपर्ने प्रावधानका कारण नेकपा सकसमा छ ।
पार्टी एकता सम्बन्धी अधिकांश काम टुंग्याएको भनिएपनि सभामुख चयनको विवादले नेकपाभित्रका पूर्व माओवादी र पूर्व एमाले समूह व्युँतिएको छ ।
नयाँ सभामुखको खोजी र उप-सभामुखको राजीनामा विवादले नेकपाभित्र पूर्व समूह विवादलाई सतहमा ल्याइदिएको छ । नेकपाले निर्णय नै गरेर तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा दिन समेत निर्देशन दिएको थियो ।
तर, उपसभामुख तुम्बाहाम्फेले संसद खाली हुने गरी पार्टीको निर्देशन मान्न आफू बाध्य नहुने बताइसकेकी छन् भने, पहिले सभामुखको उमेद्वार टुंगो लगाएपछि मात्रै आँफूले राजीनामा दिने अडानमा छिन् ।
अधिकांश महिला नेतृ तथा महिला अधिकारकर्मीहरु डा.शिवमायानै सभामुखका लागि योग्य उमेद्वार भएकीले सभामुखमा उनको विकल्प नभएको दाबी गर्छन् ।
यही विवादका कारण संसदको हिउँदे अधिवेशन तेस्रो पटक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । जसका कारण संसदको हिउँदे अधिवेशनमा छलफल हुनुपर्ने ३९ वटा विद्येयक रोकिएका छन् ।
अहिले नेकपाभित्रै सभामुख पदका लागि लडाई चल्दा जनताको प्रतिनिधित्व गर्ने संसद अबरुद्ध बन्न पुगेको छ ।