पोखरा पुगेर फर्कनेहरुलाई बन्दीपुरले तान्दै , नेपाल भ्रमण बर्षको लागि बन्दीपुरको बन्दोवस्ती आकर्षक ! (भिडियो)



प्रकाशित मिति : Jan 14, 2020
  • १. पोखरा पुगेर फर्कनेहरुलाई बन्दीपुरले तान्दै, नेपाल भ्रमण बर्षको लागि बन्दीपुरको बन्दोबस्ती आकर्षक

भ्रमण बर्षको रौनकमा प्रवेश गरेको छ मुलुक । भ्रमण बर्षको प्रवेशसंगै प्रदेशहरु मात्र नभइ बिभिन्न पर्यटकीय शहरहरुले पनि आफूलाई क्रियाशील बनाउन थालेका छन् ।

गण्डकी प्रदेश पर्यटनका निम्ति मुलुककै लागि गहना प्रदेश पनि हो । पोखरालाई केन्द्रमा राखेर फैलिएको गण्डकी प्रदेशमा रहेका मनाङ, मुस्ताङ, तनहुँ, स्याङ्जा लमजुङमात्र नभइ बिभिन्न जिल्लाले पनि पर्यटक लोभ्याउने उत्तिकै हैसियत बोकेका छन् ।

यसै मध्येको एक हो तनहुँको बन्दीपुर पनि । भक्तपुरे शैलीमा स्थापित यो शहर पोखरा घुमेर फर्कनेहरुले बाटो नाघेर विर्सन सक्दैनन् । दैनिक पाँचदेखि सातसय सम्म पर्यटक भित्र्याउने बन्दीपुरको आकर्षण आफैमा अपार छ ।

त्यसमाथि यहाँ पर्यटकका लागि गरिएको व्यवस्था र उपलब्ध सेवा सुविधा पनि वास्तवमा नै लोभलाग्दो छ । गण्डकी प्रदेश सरकारले पर्यटन बर्ष २०२० भित्र १३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

यो लक्ष्य पूरा होला नहोला तर बन्दीपुरले ठूलो संख्यामा पर्यटकलाई यस बर्ष भित्र आफ्नो नगर भित्र्याउने निश्चित छ ।

  • २. अब महिलाहरुले पनि बजाउन थाले पञ्चेबाजा, महिलाले छुन समेत नहुने भनिएको बाजाहरुमा महिलाको सुर र ताल मिल्दै

गायत्री पढ्न हुँदैन महिलाले भन्ने मान्यता कायम गरियो, हनुमानको मूर्ति पनि महिलाले नछुनु भनिन्छ, त्यसमाथि नेपाली समाजका हरेक शुभकार्यमा घन्किने पञ्चेबाजा महिलाले बजाउन हुँदैन भन्ने सामाजिक मान्यता बनाइयो ।

यी र यस्ता धेरै मान्यता र कुरीतिका भ्रमहरु सिर्जना गरेर हरेक सिर्जनशील पक्षमा महिलाहरुले टाढा राख्ने प्रयास गरियो । तर, अब समाज फेरिएको छ तथाकथित मान्यताका साङ्लोहरु चुँडिन थालेका छन् ।

अब महिलाहरुको हात, गला र कलामा पनि नर्सिङ्गा, सनई, झ्याली, दमाहा सजिन थालेका छन् । काठमाडौंका महिलाहरुले पञ्चेबाजा बजाएर सुरु गरेको अभियानलाई अब धेरै गाउँठाउँका महिलाहरुले पनि साथ दिन थालेका छन् ।

यसैको प्रभावले म्याग्दीका महिलाहरु पनि अब निर्धक्क भएर शुभकार्यमा बज्ने बाजाहरु बजाएर आफुहरुलाई व्यस्त राख्न थालेका छन् ।

  • ३. बागलुङको आमा समूहले समाजबाट संकलन गरेको रकम समाजका लागि नै खर्च गर्दै बनायो धर्मशाला

धर्मशाला नेपाली समाजमा तीर्थब्रतमा निस्कनेहरुका लागि मात्र नभइ टाढाको यात्रा गर्दा वास बस्ने आध्यात्मिक विसौनी पनि हो । पितापुर्खाको पालादेखि नै अस्तित्वमा रहेको धर्मशाला समयक्रमसंगै विस्तारै लोप हुन थालेपछि नेपाली समाजको परिचय एवं मौलिकता नै मासिएको चर्चा हुन थाल्यो ।

धेरैले समाजबाट धर्म हराउँदै गएको आभाष समेत गर्न थाले । तर बागलुङको आमा समूहले भने बिभिन्न सांस्कृतिक कार्यक्रम गरी त्यसबाट संकलित रकमले धर्मशाला स्थापना गरेर उदाहरणीय नमुना पेश गरेका छन् ।

बागलुङ नगरपालिकाको निर्णयघाटमा निर्मित धर्मशाला मानिसको अन्तिम संस्कारमा सहभागी हुनेहरुका लागि मात्र नभई यात्राको क्रम समस्यामा परेकाहरुका लागि पनि विसौनीको साझा थलो बनेको छ ।

समाजबाट संकलित रकम समाजकै हितमा प्रयोग गर्ने बागलुङ्ग आमा समूहको यो सत्कार्य वास्तवमा नै अनुकरणीय मानिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com