भ्रमण बर्ष सुरु भए पनि सीमा–नाकामा नेपाली कर्मचारीको व्यवहारबाट भारतीय पर्यटक आजित (भिडियो)



प्रकाशित मिति : Jan 14, 2020
  • १. भ्रमण बर्ष सुरु भए पनि सीमा–नाकामा नेपाली कर्मचारीको व्यवहारबाट भारतीय पर्यटक आजित

भ्रमण बर्षको अवसरमा नेपाल विदेशी पर्यटकलाई देशभित्र लोभ्याउन र उनीहरुको उपस्थिति बढाउन व्यस्त छ । भ्रमण बर्ष सफल पार्न नेपालले यतिखेर हरेक पक्षमा ध्यान पु¥याउन आवश्यक छ ।

धेरै पूर्वाधारहरुमाथि प्रश्न उठिरहे पनि नेपाल भ्रमण बर्षमा प्रवेश गरिसकेको हुनाले अब कमी कमजोरीहरु अघि सारेर नभइ भएका कमी कमजोरीलाई पनि व्यवहारले छोपेर अघि बढ्नु पर्ने अवस्था छ ।

नेपाल भ्रमण बर्ष सफल पार्न विदेशी पर्यटकहरुको पहिलो उपस्थिति हुने विमानस्थलदेखि सीमानाकासम्म र होटल देखि पर्यटकीय स्थलहरुसम्म ध्यान पु¥याउन आवश्यक देखिएको छ ।

विमानस्थल र सीमानाकामा कर्मचारी एवं सुरक्षार्कीहरुले गर्ने व्यवहारले पर्यटकमा प्रभाव पार्न सक्ने हुनाले सबैले सचेत बन्नु पर्ने अवस्था छ । नेपालमा आउने धेरै पर्यटकहरु भारतकै हुने गर्छन ।

तर स्थलमार्गमार्फत सीमानाकाबाट नेपाल भित्रने भारतीय पर्यटकहरु सीमानाकामा खटिएका कर्मचारीहरुले अनावश्यक दुःख दिने, हेप्ने र बिभिन्न डरत्रास देखाउने गुनासो गर्दै आएका छन् ।

यो शैलीले भ्रमण बर्ष ट्वान्टी ट्वान्टीलाई कुनै पनि हालतमा सफल पार्दैन । त्यसैले सीमानाकाका कर्मचारीले आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक देखिएको छ ।

  • २.सुदूरपश्चिमको ९ जिल्लामध्ये ८ जिल्लामा विमानस्थल बनेपनि डडेल्धुरामा भने बल्ल बनाउने तयारी

सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ८ जिल्लामा विमानस्थलको व्यवस्था छ । तर डडेल्धुरा भने यो मामिलामा अभागी रहदै आएको छ । तर अब भने डडेल्धुरा पनि विमानस्थल निर्माण गर्न अघि सरेको छ ।

काठमाडौंबाट सोझै उडानको व्यवस्था गर्ने गरी निर्माण गर्न लागिएको विमानस्थलका लागि सम्भाव्यता अध्ययनको कार्य पनि सम्पन्न गरिएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिकाको पुइलेकदेखि वयलडाँडासम्मको मैदानलाई यस्का लागि उपयुक्त मानिएको छ ।

प्रारम्भिक सम्भाव्यता अध्ययनमा पनि उपयुक्त देखिएको यो भूभागमा निर्माण थालिए विमानस्थल चार बर्षभित्र निर्माण गर्न सकिने प्राविधिकहरुको निष्कर्ष छ । उडान र अवतरण लगायत अन्य सुविधाका लागि पनि यो भूभाग उचित रहेको निष्कर्ष पनि प्राविधिकहरुको छ ।

  • ३. निरन्तरको हिमपातले विद्युत सेवा ठप्प भएपछि वैतडीको पाटनवासी खानेपानीको अभावको मारमा

निरन्तरको हिमपातले विद्युत सेवा अवरुद्ध हुँदा वैतडीको जनजीवन हिउँ झै कठ्यांगिएको छ । लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी विद्युत अवरुद्ध हुँदा सञ्चालनमा आउन नसकेको कारण वैतडी सदरमुकाम पाटनवासीहरु खानेपानीको अभावमा तड्पिन थालेका छन् ।

हिउँ पगालेर पानीको तिर्सना मेट्दै आएका पाटनवासीहरुले हरेक हिउँदमा यो समस्या भोग्दै आएका छन् । स्थायीरुपमा समस्या समाधानका लागि पाटनवासीले माग राख्दै आएपनि उनीहरुको समस्या कहिंकतैबाट सुनुवाई नहुँदा कष्टकर जीवन जीउन विवश छन् ।

एकातिर खानेपानीको अभाव त अर्कोतर्फ टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध हुँदा पाटनवासीको दैनिकी थप कष्टकर बनेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com