सक्षमलाई सक्षम बनाउने पूर्व खेलाडी आमा देवु, सक्षमले दिलाएको सयौं स्वर्ण नै स्वादिलो



प्रकाशित मिति : Jan 14, 2020

काठमाडौं । आमा तिनै हुन् जसले सन्तानलाई संसार देखाउछिन, पाइला चाल्नको लागि ताते–ताते सिकाउछिन, लडबडाउदा काँध थाप्छिन्, हड्बडाउदा हिम्मत दिन्छिन् र गर्विलो काखमा राखेर चराचर जगतको विषयमा जानकार बनाउछिन् ।

सिंगो जीवनको परिभाषा खोज्ने हो भने आमालाई हेर्दा नै पुग्छ । आमा धर्ती हुन्, कहिले भगवानको रुप, कहिले डाक्टरको रुप त कहिले रक्षाकवचको रुपमा प्रस्तुत हुने बहुआयामिक, बहुरुपी व्यक्ति आमा ।

हरेक कठिन परिस्थितिमा पनि हाँसेर बाँच्न सक्ने व्यक्तित्व हुन् आमा । त्यस्तै आमा हुन् १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोमा स्वर्ण जितेर देशकै नाम रोशन गर्ने सक्षम कार्कीको आमा देवु मल्ल कार्की पनि ।

देवुको त्यो नफर्किने बालापन र माइतीको घरआँगन गुमाउँदाको पीडा

उनी देवु कार्की अर्थात तेक्वान्दोका राष्ट्रिय खेलाडी सक्षम कार्कीकी आमा । देवुको नजरमा आमा पहिलो भगवान हुन्, सृष्टिको सुन्दर रचना हुन् र धर्ती हुन् ।

पर्वतमा जन्मिएकी देवुको बाल्यकाल संर्घषमय रह्यो । डेढ वर्षको हुँदा बुवालाई गुमाएपछि देवुले बाल्यवस्थामा संर्घषको पहाड चड्नु परेको थियो ।
पढाईमा समेत उत्कृष्ठ रहेकी देवुले सानै उमेरदेखि नै आमाको संर्घष बुझ्ने र आमालाई सहयोग गर्ने गर्थिन् ।

एथलेटिक्सको क्षेत्रीय खेलसमेत खेलेकी देवुले काठमाडौँ आएर पढ्ने क्रममा २०४७ सालमा कोटेश्वरका तेक्वान्दोका खेलाडी भैरव कार्कीसँग प्रेम विवाह गरेकी थिइन् ।

विवाह गरेको ११ वर्षसम्म माइतीबाट नबोलाउदा संघर्षशील आमालाई भेट्न नपाएकी देवुले सासुको माया र प्रेमले माइतीको मायालाई भुल्ने प्रयास गरेकी थिइन् । तर, कुन छोरीले त्यो बालापन र माइतीको आँगन भुल्न सक्ला र ?

रेडक्रसकै गाडीमा जन्मिए सक्षम, प्रसुति खर्च लाग्यो २५ रुपैयाँ

वि.स.२०५३ सालमा रेडक्रसको गाडीमा नै जन्मिएका सक्षम कार्की नामले मात्र होइन्, कर्ममा पनि सक्षम छन् । बेला बेलामा छोरालाई जिस्काउने गर्छिन, २५ रुपैँयाको मान्छे होस् त भनेर ।

कम बोल्ने स्वभावका रहेका सक्षम आमालाई धेरै नै माया गर्छन् । कुनै समय छोराले तेक्वान्दो नखेले हुन्थ्यो भन्ने सोच्ने देवु अहिले छोराको सफलतामा प्रफुल्ल छिन् ।

१४ वर्षको उमेरमा आमा देवु कार्की आफैले सक्षमलाई कोटेश्वर डोजोमा भर्ना गरेको भए पनि बेला बेलामा छोरालाई लागेको चोटका कारण नखेल हैँ भन्ने अवस्थामा समेत पुगिन् । हुन पनि सन्तानको चोटमा कुन आमा खुशी हुन् सक्थिन् र !

पढाईको मामिलामा अलि अल्छी स्वभावका रहेका सक्षमलाई खेलमा सक्षम गराउन गुरु नवीनकुमार श्रेष्ठ, आमा देवु र बुबा भैरवले धेरै मेहनत गर्नु परेको छ । छोरालाई लागेको चोटमा धेरै रात रोएर बसेका छन् कार्की दम्पत्ती ।

एक पटकको दुर्घटनामा त सक्षमलाई जिउँदो छ भन्ने आशा मारेकी थिइन्, देवुले । त्यसैले पनि बेला बेलामा भन्छिन्, छोरा यो खेल अब नखेल न हैँ ।

सक्षम परिवारको संर्घषको समयमा जन्मिएको भएर होला संर्घषशील छन् । जन्म प्रक्रियामा जम्मा २५ रुपैँया खर्च भएकोले पनि सक्षम आफूलाई कम खर्चिलो व्यक्ति भन्न रुचाउछन् ।

सक्षमको नजरमा आमा सर्वोपरी हुन् । आत्तिएको बेलामा हौसला प्रदान गर्ने व्यक्ति हुन् आमा । दुःखमा पनि मुस्कुराई रहन सक्ने व्यक्ति हुन् आमा । उनी आमालाई संसार मान्छन् , आफ्नो जीवनमा नै उनले आमालाई कहिल्यै दुःखी देखेका छैनन् ।

तेक्वान्दो भित्र दिमाग लगाएर खेल्ने खेलाडी हुन् सक्षम

राष्ट्रिय टीममा पर्छु वा हराएर जानेभन्दा पनि राम्रोसँग खेल्छु भनेर तेक्वान्दो खेल्न सुरु गरेका सक्षम सुरुवाती दिनमा रमाइलोका लागि खेल्थे ।

सन् २०१३ मा नै राष्ट्रिय टोलीमा छनौट भएका उनी तेक्वान्दोमा अनुभवी खेलाडी मानिन्छन् ।

खेल जीवनमा पटक पटक घाइते भए पनि हरेस नखाने स्वभावका रहेका उनी कम बोल्ने स्वभावका हुन् । पढाइमा खासै चासो नराख्ने उनी आफूलाई अचम्म लाग्दो मानिस समेत मान्छन् ।

नेपालले साग खेलकुदको इतिहासमा सयौं स्वर्ण पदक जित्दा त्यो सय स्वर्ण पदक सक्षमको नाममा लेखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com