२९ पुष २०७६, मंगलवार
  • दानबहादुर बुढा

मुगु, २९ पुष । मुगुका महिलाहरु पुषको जाडोमा गिट्टी कुट्दै जीवन धान्न बाध्य छन् । छायाँनाथ रारा नगरपालिका अधिकांश महिलाहरु गिट्टी कुटेर गुजारा चलाउँछन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं ५ की ५० वर्षीया सन्चौरा विकले गिट्टी फोडेको आम्दानिबाट घर खर्च चलाउँदै आएकी बताइन् । बिहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र घर फर्किन्छिन् ।

सन्चौरा मात्रै हैन मुगुका अधिकांस बेरोजगार युवती र महिला घर खर्च चलाउँनको लागि नीजि र सरकारी भवन निर्माणको काममा सामेल हुँदै आएका छन् । तर काम गरेअनुसारको पारिश्रमिक नपाएको उनीहरुको गुणासो छ ।

घर चलाउँनका लागि उनीहरु न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । निमार्णको काममा महिलाहरुलाई न्युन पारिश्रमिक दिने गरेको मुगुका काली विकले बताए ।

महिलाहरुले एक कट्टाको ७० रुपैयाँ मात्र पाउने गरेका छन् । उनीहरुले दिनभरि बढीमा तीन कट्टा मात्र गिट्टी फोड्न सक्छन् । हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिलाहरु बताउँछन् ।

यता स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ शाहीका अनुसार स्थानीय नगरपालिकाभित्र रहेको बेरोजगार युवा, युवती र महिलाहरुलाई व्यवसाय सन्चालन सम्बन्ध विभिन्न सिपमुलक तालीम दिनका लागि विभिन्न कार्यक्रम ल्याइरहेको र केही कार्यक्रम सन्चालनमा आइरहेको बताएका छन् ।

मुगुका स्थानीयले पर्यटन, जल, जडीबुटीबाट अर्थ संकलन गर्न सक्ने भएपछि उक्त बस्तुहरुको सही सदुपयोग हुन सकेको छैन । जिल्लाका जनताहरुलाई छाक टार्न धाउ धाउ भइरहेको छ ।

नेपाल सरकारले संघीयताको संरचना ल्याएपछि देशमा ठूलो परिर्वत आउने आशा बोकेका जनतामा निराशपन छाएको छ ।

LIVE TV