२९ पुष २०७६, मंगलवार

काठमाडौँ, २९ पुष । कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको अतिक्रमित सम्पूर्ण भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्शा सार्वजनिक गर्न माग गरेको छ ।

अभियानले नयाँ नक्शालाई देशव्यापी बनाउने जानकारी पनि दिएको छ । तत्काल प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत सीमा बचाऔं अभियानले गरेको छ । सार्वजनिक गरिएको नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग समेत गर्नुभयो । ‘कि त हामीले तयार पारेको नक्शा बेठीक भन्नुप-यो कि सार्वजनिक गर्नुप¥यो,’ रिसालले भन्नुभयो, ‘देशको अतिक्रमित भूभाग समावेश गरी राज्यले तत्काल नक्शा सार्वजनिक गरोस् ।’

उहाँले वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । उहाँको प्रश्न थियो , ‘देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी पनि उहाँको छ ।

पत्रकार सम्मेलनमा पूर्व सचिव द्धारिका ढुंगेलले सरकारसंग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्न माग गर्नुभयो । नागरिक स्तरबाट जारी गरेको नक्शा सरकारका मन्त्रीहरु सामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग समेत गरिसकेको उहाँको भनाइ छ ।

उहाँले नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्शा सार्वजनिक नभएको आरोप लगाउनु भयो । परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरेकोमा ढुंगेलले आपत्ति समेत जनाउनु भयो ।

कार्यक्रममा प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्शा सरकारले सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको र मेची क्षेत्रको सीमा विवादमा भारतले मानी सकेको पनि उहाँको भनाइ थियो । तर सुदरपश्चिम क्षेत्रमा भने सीमा विवाद अझै मिलिनसकेको खनालले बताउनुभयो ।

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले सरकारले नक्शा सार्वजनिक नगरे देशव्यापी अभियानमा जाने बताउनुभयो । देशको अतिक्रमित भूभागसहितको नक्शाका लागि देशव्यापी आन्दोलनमा जान बाध्य हुने भुषालको कथन छ ।

डा. भुषालले देशको भूमि एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भू-भागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने बताउनुभयो ।

अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले देशको भूभाग अतिक्रमणमा परेरको छर्लंंग हुँदा पनि प्रतिरोध गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

भारतले नक्शा, भूमि अतिक्रमण हुँदै प्रशासनिक अतिक्रमण गरी तीनतरिकाले अतिक्रमण गरेको भन्दै नेपाल सरकारले पनि यसरी नै तीनतरिकाले प्रतिरोध गर्नुपर्ने उहाँको सुझाव छ ।

LIVE TV