२९ पुष २०७६, मंगलवार

काठमाडौँ, २९ पुष । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीविरुद्ध मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाँईले सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

भ्रष्टाचार तथा घुस लिएर अकुत सम्पत्ति कमाएको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन् । गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ ।

गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरेका छन् । त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिन सफल भएको प्रसाईंको आरोप छ ।

आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन् । उता, प्रसाईसँग घुस लिएको आरोप गलत भएको भन्दै गिरीले खण्डन गर्दै आएका छन् ।

LIVE TV