२८ पुष २०७६, सोमबार

काठमाडौँ, २८ पुष । दलित समुदायका नेता, सांसद र अधिकारकर्मीले संवैधानिक आयोगको रूपमा रहेको राष्ट्रिय दलित आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसँग आज सिंहदरवारस्थित कार्यकक्षमा भेट गरी लामो समयसम्म आयोग पदाधिकारीबिहीन हुँदा दलित समुदाय अन्यायमा परेको भन्दै संविधानको धारा २५५ बमोमिज आयोगमा पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् ।

दलित नेताहरुले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र वादी विकास समितिलाई तत्काल क्रियाशील बनाउनसमेत आग्रह गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ,“सरकारद्वारा गरिने संवैधानिक र कानूनी आयोगमा संविधानको मूल मर्मअनुसार दलित समुदायको समान सहभागिता होस् ।”

सो अवसरमा मन्त्री त्रिपाठीले आयोगमा पदाधिकारी पठाउने सवालमा सत्तारुढ पार्टीमा निर्भर रहने भन्दै विकास समिति गठनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा सांसद सुजता परियार, निरा जैरु र नेताहरु जीतु गौतम, रणेन्द्र बराइली र प्रदीप परियारको सहभागिता रहेको थियो ।

LIVE TV