२८ पुष २०७६, सोमबार
  • सबिन लामिछाने

दमौली , २८ पुष । तनहुँको व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म तेस्रो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर अल्ट्रा म्याराथन नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको हो ।

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले पर्यटकीय गाउँ मानुङ्गकोट र शहिदको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए ।

सरकारले राखेको भ्रमण वर्ष २०२० लाई पनि म्याराथनले थप प्रर्वद्दन गर्ने विश्वास लिएको न्यौपानेले बताए । म्याराथनमा बाटोको बीचमा दुरी पार गरेको धावकको दर्ता समेत गरिने जसले गर्दा कसैले पनि छलि गर्न नपाउने न्यौपानेले बताए । यस वर्षको म्याराथनको संयोजकमा व्यास ९ का वडा अध्यक्ष सुरेश थापा रहेका छन् । प्रतियोगितामा १६ वर्ष भन्दा माथिको उमेर धावक सहभागी हुन पाउने भएका छन् ।

व्यास वडा नं ५ मानुङ्गकोटबाट शुरु हुने म्याराथन शहिद स्मार्क पार्क रहेको व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहनेछ । म्याराथन मानुङ्गकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगितामा दुई सय भन्दा बढी धावकहरुको सहभागिता रहने अनुमान गरिएको न्यौपानेले बताए । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा तीस जिल्लाका एक सय ५९ धावकहरुको सहभागिता रहेको थियो । जसमा नेपाली सेनाका प्युठ ३२ वर्षीय नवराज साउदले प्रथम उपाधी जितेका थिए । यस पटक हुने प्रतियोगितामा प्रथम हुनेलाई ८१ हजार ७६, दोश्रो हुनेलाई ६१ हजार ७६, तेश्रो हुनेलाई नगद ५१ हजार ७६ रुैपया र सान्त्वना हुने पाँच जनालाई १६ हजार ७६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

LIVE TV