२८ पुष २०७६, सोमबार
  • देवराज पन्त,

मकवानपुर, २८ पुष । मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको छ । आज सो गाउँपालिकाले बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्दै देशभरका ४ सय ६० गाउँपालिका मध्ये पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको हो ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले घोषणा पत्र पढेर सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पोखरेलले बालमैत्री गाउँपालिका घोषणा गरेर मात्र नपुग्ने हुनाले यो अभियानलाई निरन्तरता दिनुपर्ने बताएका थिए । उनले यस प्रकारका समाज परिवर्तनमुखी कार्यक्रमहरुले अन्य स्थानीय निकायहरुले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

गाउँपालिकाले करिब डेढवर्ष अघिदेखि बालश्रम र बाल विवाहका घटनालाई कडाईका साथ बन्देज गरेको थियो । बालमैत्री गाउँपालिका बनाउनका लागि योजना तर्जुमा गर्ने, तालिम, गोष्ठी, अन्तरक्रिया गर्दै आएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । मनहरी गाउँपालिकाले बाल अधिकार समिति, गाउँ बाल सञ्जाल, बालमैत्री स्वयम् सेवकहरु, बालमैत्री शासन समितिलाई सक्रिय बनाएर काम गर्दै आएको जनाएको छ ।

बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण हुन पाउने अधिकार, विकास हुन पाउने अधिकार र सहभागिता हुन पाउने अधिकारसहित ३९ वटा सूचक पूरा गरेपछि बालमैत्री गाउँपालिका घोषणा भएको जनाईएको छ । पछिल्लो तथ्यांक अनुसार गाउँपालिकामा ८ हजार ६ सय ५५ घरधुरी र ४६ हजार ८सय ५३ जना जनसंख्या रहेको छ । तीमध्ये ८ हजार १ सय १६ जना बालक र ७ हजार ६ सय २३ जना बालिका रहेको जनाएको छ ।

गाउँपालिकामा स्वच्छ पिउने पानी सबै घरधुरीमा रहेको र साबुन पानीले हात धुने व्यवस्था ८ हजार १ सय २६ घरधुरीमा रहेको सर्वेक्षणले देखाएको गाउँपालिकाको तथ्यांकमा छ । गाउँपालिकाभित्र ८ हजार ६२ घरमा शौचालय रहेको पाइएको छ । गाउँपालिकाले निकृष्ट बालश्रममा आश्रित बालबालिकाहरुलाई विद्यालय फिर्ता गराएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, अर्थ समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहाल, प्रतिनिधि सभा सदस्य विरोध खतिवडा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, विभिन्न गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, लगायतकाको आतिथ्यता रहेको थियो ।

घोषणा कार्यक्रमका लागि मनहरी गाउँपालिकाले आज सार्वजनिक विदा समेत दिएको छ ।

LIVE TV