२८ पुष २०७६, सोमबार

काठमाडौं, २८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्धवार नै बन्न नपाउने दाबी गर्नु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत हुनु पर्ने बताउदै उहाँले अगाडि भन्नुभयो ,‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भइरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’

सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भीर हुनुपर्नेमा उहाँको जोड थियो । यद्धपि उहाँले अहिलेको संसदको गत्यारोध पार्टीसँग सम्बन्धित नभएको जिकिर पनि गर्नुभो । ‘यो गत्यारोध संवैधानिक अंगसँग सम्बन्धित छ ।’–उहाँले भन्नुभयो,‘त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् ।’

साक्षात्कारमा नेता गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको पनि बताउनुभयो । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेद्धवारी दिने बताउँदै उहाँले भन्नुभयो,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि स्मरण पनि उहाँले गर्नुभयो । ‘

उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन् । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्विप जारी गर्न मिल्दैन् । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ ।’–गुरुङको भनाइ थियो ।

संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फलो गर्नुपर्ने उहाँको धारणा छ । संविधानले सभामुख नरहने परिकल्पना नगरेको प्रष्ट पार्दै उहाँले भन्नुभयो,‘संविधानले कायममुकायमको पनि व्यवस्था गरेको छैन् ।’ उपसभामुखले अन्तरवस्तु आकर्षण गर्नेगरि बैठक बोलाउन नसक्ने उहाँको तर्क छ ।

उहाँले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन् । यदि उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ ।’ उहाँले अहिले महिला वा पुरुषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घट्नाक्रमले संकट आईपर्नसक्ने सम्भावना रहेको पनि बताउनु भयो ।

अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरुङले भन्नुभयो,‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुपर्यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि उहाँलाई मार्गप्रशस्त गर्न रहेको छ ।’ संवैधानिक रुपमै सभामुखमा उम्मेद्धवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्धवार तय नगरेको उहाँको तर्क छ ।

ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङको भनाइ छ । उहाँले उपसभामुख यथावत रहेको अवस्थामा नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नपाउने पनि स्पष्ट पार्नुभयो ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य नहुने तर्क समेत गर्नुभयो ।

LIVE TV