२८ पुष २०७६, सोमबार
  • राजु पौडेल

झापा, २८ पुष । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आउने महाधिवेशनबाट पार्टी नेतृत्व कुनै पनि हालतमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ ।

झापाको बिर्तामोडमा सोमबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले सभापति देउवा गुटभन्दा माथि उठ्न नसकेकाले पार्टीभित्र समस्या भएको आरोप लगाउनुभयो । ‘शेरबहादुरजीसँग पार्टी सञ्चालनका लागि कुनै सपना छैन । उहाँ गुटभन्दा माथि उठ्न सक्नु भएन’, उहाँले भन्नुभयो, ‘गुट महाधिवेशन मात्रै कसलाई भोट हाल्ने हो भनेर हुनुपर्ने हो । तर, त्यस्तो भएन ।’
आउँदो महाधिवेशनमा पूर्वसंस्थापन समूह एक हुनुपर्ने उहाँको धारणा छ । सभापति शेरबहादुर देउवा समूहबाट नेतृत्व हत्याउन पाँच नेता एक हुनुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री कोइरालाले संस्थापनइतर समूहमा सभापतिका लागि धेरै सक्षम नेता भएको भन्दै सल्लाह गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह र स्वयं आफु गरी पाँच जना नेता नै सभापतिका लागि सक्षम भएको दाबी गर्नुभयो ।

तर, महामन्त्री कोइरालाले सिटौलाप्रति भने अविश्वास प्रकट गर्नुभयो । ‘अहिले हामी (संस्थापनइतर)सँगै हुनुहुन्छ । तर, उहाँ माहिर राजनीतिज्ञ हो’, उहाँले भन्नुभयो, ‘उहाँलाई हामीसँगै राख्ने प्रयास हुन्छ ।’ उहाँले पार्टीमा देखिएको विवाद १४ औँ महाधिवेशनबाट समाधान हुने दाबी गर्नुभयो ।

उहाँले सरकारले संविधान र लोकतन्त्रविरुद्ध गतिविधि गर्न थालेको बताउनुभयो । विधेयकमार्फत नागरिकका अधिकार खुम्च्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले सरकारले कुनै नौलो काम नगरेको दाबी गर्नुभयो । ‘सरकारले केही नौलो काम नै गर्न सकेन’, उहाँले भन्नुभयो, ‘तसर्थ सरकार पूर्णरूपमा असफल भयो ।’

LIVE TV