२८ पुष २०७६, सोमबार

एजेन्सी, २८ पुष । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा विपक्षीको पोस्टमा आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ ।

पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । एस्टन भिल्लाले इन्जुरी समयमा एक गोल फर्कायो । म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले ह्याट्रिक गरे । उनले २८, ५७ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । उनले लिगमा १२ औँ ह्याट्रिक गरेका हुन् ।

यस्तै सिटीका लागि रियाद महरेजले दुई गोल गरे । उनले १८ र २४ औँ मिनेटमा गोल गरेका हुन् । सिटीका लागि गाब्रिएल जिससले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा एल गाजीले एस्टनका लागि एक गोल फर्काएका हुन् । जितसँगै निकालेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

२२ खेलबाट ४७ अंक जोडेको सिटीले समान खेखलबाट ४५ अंक रहेको लेस्टर सिटीलाई पछि पारेर दोस्रो स्थानमा पुगेको हो ।

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । पराजित भएको एस्टन भिल्ला २२ खेलबाट २१ अंकसहित रेलिगेशन जोनमा पुगेको छ ।

आइतबार राति नै भएको खेलमा बोर्नमाउथलाई ३–० ले पराजित गरेको वाट्फोर्ड २२ खेलबाट २२ अंकसहित रेलिगेशन जोनबाट बाहिर निस्कन सफल भएको छ ।

LIVE TV