२८ पुष २०७६, सोमबार

काठमाडौं, २८ पुष । प्रतिनिधिसभा सभामुख छान्न सत्तारूढ दल नेकपालाई सकस भइरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दुई अध्यक्षलाई सभामुखको उम्मेदवार टुंगो लगाउन चुनौती दिएकी छिन्। प्रधानमन्त्री निवास बालुवाटरमा उनले आइतबार दुई अध्यक्षसँग भेटघाट गरेकी थिइन्।

‘तपाईंहरू एक महिनासम्म पनि सभामुखको उम्मेदवार तय गर्न नसक्ने अनि सार्वजनिक रूपमै मेरो राजीनामा माग्ने ?’ दुई अध्यक्षसँग उनले भनिन्, ‘तपाइँ पहिला उम्मेदवार तय गर्नुस्, मेरो पनि दाबी छँदैछ।’ स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीले निर्णय गरिसकेको उल्लेख गर्दै राजीनामा दिएर सहयोग गर्न तुम्बाहाम्फेलाई आग्रह गरे। तर उनले पार्टीले राजीनामाका लागि निर्देशन दिनु ठीक हो कि होइन भनी प्रश्न गरिन्।

‘कुनै एउटा व्यक्तिलाई यसरी बारम्बार राजीनामाको प्रसंग उठाएर आफ्नो कमजोरी लुकाउन खोज्नुलाई मैले के मान्ने ?’ उनले अध्यक्ष दाहालसँग भनिन्। स्रोतका अनुसार नेतृत्वले सभामुख छान्न नसक्नुको कारण उपसभामुखले राजीनामा नदिएको भन्दै दोष दिएकोमा तुम्बाहाम्फेले असन्तुष्टि जनाइन्। ‘म बाधक हुँदै होइन, मेरो दाबी छ भनेकी हुँ। नेतृत्वले सभामुखको उम्मेदवारचाहिँ किन टुंग्याउन सकिरहेको छैन ? मसँग किन राजीनामा मागिरहेको छ ?’ उनले भनिन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV