२७ पुष २०७६, आईतवार

काठमाडौँ, २७ पुष । नेपालमा स्की खेलको सम्भावना अत्यन्तै राम्रो रहेको स्की खेल पारखीहरुले बताएका छन् । आवश्यकता अनुसारको भौतिक संरचना निर्माण गर्न सक्ने हो भने स्की खेल विकासको साथै अफ सिजन पर्यटक भित्र्याउन सकिने उनिहरुको दाबी छ ।

गत शनिबार दोलखाको शैलुङमा स्की खेलको प्रदर्शन गरिएको छ । डायनामिक स्काउट क्र्यूको आयोजना, नेपाल माउण्टेन एकेडेमीद्धारा प्रचारित र अल्पाइन शेर्पा गाइडको प्राविधीक सहयोगमा दोलखा जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र शैलुङमा स्की खेलको सम्भावना पहिल्याउन सो प्रदर्शनको आयोजना गरिएको हो ।

This image has an empty alt attribute; its file name is 1-1-1-768x512.jpg

हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा स्की खेलको विकास नभएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीले केहि वर्षदेखि खेलको सम्भावना खोज्न सुरु गरेको छ । नेपालका विभिन्न स्थानमा स्की खेलको सम्भावना खोज्ने क्रममा शैलुङलाई पनि सम्भाव्य स्थानको रुपमा विकास गर्नका लागि डायनामिक स्काउट क्र्यूसँगको सहकार्यमा सो प्रदर्शन आयोजना गरिएको नेपाल माउण्टेन एकेडेमीले जनाएको छ ।

प्रदर्शनको क्रममा शैलुङ गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलाल, भिमेश्वर नगरपालिकाका प्रतिनिधि, दोलखा जिल्ला स्काउटका जिल्ला तालिम आयुक्त थिरबहादुर खड्का, स्थानीय संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

डायनामिक स्काउट क्र्यूका अध्यक्ष श्रीवत्स बस्न्यातले स्काउटहरु साहसिक क्रियाकलापमा पनि रमाउन चाहने भएको हुदाँ यस्ता खेलले आकर्षण गराउँने र स्काउटहरुलाई पनि यस खेलमा सहभागि गराउँन सके स्की विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । साथै स्काउटिङ अन्तराष्ट्रिय अभियान भएकाले यस्ता कार्यक्रमका माध्यमबाट विदेशी स्काउटहरुलाई आकर्षित गराई भ्रमण वर्ष २०२० सफल बनाउँन सहयोगी बन्न सक्ने बताउनुभयो ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले सय भन्दा बढी थुप्का भएको शैलुङ स्कीका लागि अत्यन्तै उपयुक्त स्थान भएकाले आवश्यक पूर्वाधार सहित व्यवस्थित गर्न गाउँपालिका लागि पर्ने बताउनु भयो । उहाँले हिउँदमा हिउँले छपक्कै सेतो हुने र चैत बैशाखमा गुरासले रातम्य हुने शैलुङले मुहार परिवर्तन गरि पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।

नेपाल माउण्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङवो शेर्पाले नेपालमा स्की खेल खेल्नका लागि विदेशीहरुले इच्छा देखाइरहे पनि आवश्यक पूर्वाधार नहुँदा खेल सञ्चालन गर्न नसकिएको बताउनुभयो । खेलका लागि उपयुक्त स्थानको सम्भावना अध्ययनभित्र शैलुङ क्षेत्र पनि परेको भन्दै शेर्पाले संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर स्कीलाई प्राथमिकता दिएमा सो स्थानलाई चाँडै नै स्की स्पोर्टर्सको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 2-2-1-768x512.jpg

क्र्यूका रोभर लिडर राजिब खत्रीले स्काउटिङ आधारभूत सिद्धान्त र मुल्य मान्यतालाई आत्मसाथ गर्दै डायनामिकले स्काउटिङमा पृथकता खोज्न पनि यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले यो खेलका माध्यमबाट युवाहरुको मनोबल बढाउन सकिने समेत बताउनुभयो ।

खेल प्रदर्शनमा १२ जना स्काउट रोभर रेञ्जरहरुको सहभागिता रहेको क्र्यूका अर्का रोभर लिडर सन्तोष कुमार थापाले बताउनुभयो । साथै अन्य क्र्यूहरुलाई पनि समेटेर निकट भविष्यमा नै स्कीको अर्को कार्यक्रम आयोजना गर्ने समेत बताउनुभयो ।

LIVE TV