२७ पुष २०७६, आईतवार
  • रिदम सिंह,

बझाङ, २७ पुष । बझाङ जिल्लाका चारवटा स्थानीय तहका जनप्रतिनिधिहरुले वातावरण अनुकुल सडक निर्माण गर्न निर्देशिका तयार पार्ने अग्रसरता देखाएका छन् । युएसएआइडी पानी परियोजना र एसडब्लु नेपालको आयोजनामा सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो प्रकारको अग्रसरता देखाएका हुन् ।

जयपृथ्वी नगरपालिका, छविस पाथिभेरा गाँउपालिका, थलारा गाँउपालिका र तल्कोट गाँउपालिकाका प्रमुख, उपप्रमुख तथा गाउपालिकामा कार्यरत कर्मचारी र प्राविधिकहरुसँग वातावरणमैत्री सडक कसरी निर्माण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । ग्रामिण क्षेत्रमा सडक कटानको तिब्रतालाई ध्यानमा राखी सुरक्षित सडक निर्माण कसरी गर्न सकिन्छ र सडक संरचना निर्माण गर्दा जलाधार क्षेत्र र त्यहाँ रहेका जलचरहरुको कसरी संरक्षण गर्न सकिन्छ सो विषयमा चर्चा गरिएको थियो ।

राप्ती, कर्णाली र महाकाली जलाधार क्षेत्रहरु अन्तर्गत सेती जलाधार क्षेत्रमा भइरहेका अतिक्रमण र ग्रामिण भेगमा अन्धाधुन्धरुपमा काटिएका सडक संरचनाहरुका कारण जलचरहरुको जिवनचक्रमा परेको प्रभाव देखिन्छ । दुईदिनसम्म संचालन भएको उक्त वातावरण मैत्री ग्रामिण सडक निर्माण सम्वन्धी सरोकारवालावीच भएको कार्यशाला गोष्ठीमा बोल्दै पश्चिम सेती जलाधार क्षेत्र बिज्ञ बसन्त प्रताप सिंहले बझाङ जिल्लाबाट देशले नै प्रसंशा गर्नेगरी नयाँ कार्यको थालनी गर्न गरेकाे भन्दै हाेसला प्रदान गरे । उनले भने “अरु विकास निर्माण गर्न सकिने भएपनि वातावरणीय सन्तुलनलाई पहिले झै हराभरा बनाउन सकिँदैन । त्यसैले वातावरणमा काम गर्दा वातावरण अनुकुल र प्राकृतिक संरचनालाई नबिगारीकन त्यस्ता संरचना निर्माण गर्नु आवश्य रहन्छ ।”

त्यस्तै कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र खड्काले सडक निर्माण गर्दा नोक्सान हुने भएका कारण सडक निर्माणबाट हुने नोक्सानीलाई रोक्न पूर्व सचेत भएर काम गर्नु आवश्यक रहेको बताए। उनले भने -“कुनैपनि कार्यक्रम तथा योजनाहरुलाई नियमन तथा कार्यान्वयन गर्ने निकायले हतारमा नभएर थोरै भएपनि दिगो र सुरक्षित तरिकाले काम गर्ने हो भने वातावरणीय सन्तुलनलाई जोगाइराख्न सकिन्छ ।”

तल्कोट गाँउपालिका अध्यक्ष लाल बहादुर विष्टले गाँउपालिका कर्मचारी र उपभोक्ता समितिहरुलाई सडकलाई दिगो हुने गरी काम गर्न सुझाव दिए । योजना सम्झौता गर्दापनि कर्मचारीहरुले ध्यान दिएर सम्झौता गर्ने र भुक्तानी गर्दा उपभोक्ता समिति वा निर्माण गर्ने जिम्मा लिएको पक्षको कामलाई हेरेर मात्र भुक्तानी गर्न समेत सुझाव दिए । कार्यक्रममा बोल्दै उनले भने “ योजना कार्यान्वयनमा जनप्रतिनिधी, सेवाग्राही र कर्मचारी सवै सकारात्मक हुन जरुरी रहेको र जनप्रतिनिधीहरुलाई पनि आफ्नो कमजोरीलाई सच्याउन अघि बढ्न निर्देशन दिए ।

LIVE TV