२७ पुष २०७६, आईतवार
  • रबिना बोहोरा,

बागलुङ, २७ पुष । बन्दूकको छर्रा लागेर बागलुङको तमानखोला गाउँपालिका–१ का ओमबहादुर घर्तीको ज्यान गएपछि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

यही पुष २४ गते १० जनाको टिम बाँदर धपाउन र सिकार खेल्न भन्दै ४ थान बन्दूक लगेर जाँदा सासबाङको जंगलमा बन्दूक पड्किएको थियो । सोही बन्दूकको छर्रा लागेर घर्ती गम्भीर घाइते बनेका थिए ।

घाइते घर्तीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो, तर उनी बाँच्न सकेनन । अस्पतालले घर्तीलाई मृत घोषणा गरिदियो ।

घर्तीसँगै सिकार खेल्न जंगल गएका लोकबहादुर बुढाले बोकेको एक नाले बन्दूक पड्किएपछि ५० वर्षीय घर्तीलाई तीन ठाउँमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृतक घर्तीका छोरा मेघबहादुर घर्तीले उक्त घटनामा लोकबहादुर बुढासहित ९ जनाको विरुद्धमा कर्तव्य ज्यान मुद्धा दर्ता गरेकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तमानखोला गाउँपालिका–१ का भेषबहादुर बुढा, खट्केङ दमाई, भिमबहादुर नेपाली, देबबहादुर पुन, देब्रे काइला भनिने प्रेमबहादुर पुन, पृथीबहादुर घर्ती, तमानखोला गाउँपालिका–३ का दुर्गा बहादुर घर्ती, फर्सबहादुर बुढा, लोकबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनास्थलबाट एक नाले बन्दूक एक थान, दुर्गा बहादुर घर्तीको घरबाट एक थान, पृथीबहादुर घर्तीको घरबाट एक थान, खट्केङ दमाईको घरबाट एक थान बन्दूक बरामद समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले नियन्त्रणमा परेकाहरुविरुद्ध कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्धामा थप अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

बागलुङ जिल्लामा लाइसेन्स नलिइकन बन्दूक बोक्ने कयौँ मानिसहरु भएतापनि प्रहरी प्रशासनले नियन्त्रणमा कुनै चासो देखाएको पाइदैन ।

LIVE TV