२७ पुष २०७६, आईतवार

काठमाडाैँ, २७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै सभामुख पदका लागि कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ ।

आइतबार दिउँसो १ बजेका निर्धारित प्रतिनिधिसभा बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भए पनि सहमति नजुट्दा बैठक ८ दिनका लागि स्थगित गरिएको हाे ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि तुम्बाहाम्फे सभामुखको उम्मेदवार तय नभएसम्म राजीनामा नगर्ने अडानमा हुनुहुन्छ ।

यसअघि, शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । उपसभामुखको अडान र सभामुखको उम्मेद्वार तय गर्न अध्यक्षद्वको सकसका कारण २३ दिनदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध छ ।

पुस ४ गते चालु हिउँदे अधिवेशन अन्तरगत प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । फेरि पनि सभामुखमै कुरा नमिल्दा १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गरिएकाे थियाे ।

अनि पुस २७ (आज) गतेलाई साे बैठक ताेकिएकाे थियो । योसँगै हिउँदे अधिवेशनको एक महिना सभामुख चयनका नाममा विना कुनै बैठक त्यत्तिकै खेर गएको छ ।

LIVE TV