२७ पुष २०७६, आईतवार

काठमाडौँ, २७ पुस । भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको जवाफमा वार्तामा बस्न तयार छौँ भनेका थियौँ, वार्ताको मिति तय गरेर जवाफ पठाउने कुरा भएको गोरखापत्रसँग बताउनुभयो ।

नेपालसँग जोडिएको सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको पहिलो जवाफ भारतले दियो । भारत सरकारले सीमा समस्या कूटनीतिक वार्ताबाटै समाधान गर्न तत्परता देखाउँदै जवाफ दिएको थियो । सचिव स्तरमा हुने त्यस वार्ताका लागि नेपालले प्रस्ताव गरेको हो । त्यसका लागि मिति तय गरेर जवाफ दिने बताएको भारतले पछिल्लो जवाफ दिइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको जवाफ आउनासाथै नेपालले वार्तामा बस्ने तयारी गरेको पटक पटक बताउनुभएको छ । उहाँले संसदीय समितिका बैठक तथा परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गर्न सरकार संवेदनशील रहेको प्रस्ट्याउँदै आउनुभएको छ । उहाँले वार्ताका लागि नयाँ मितिको गृहकार्य सरकारका तर्फबाट भइरहेको जानकारी दिनुभएको थियो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV