दीलिपको विभत्स हत्या : दाहिने कोखामा रडले घोचेर ज्यान लिएपछि टिपर चलाइयो (भिडियो)



प्रकाशित मिति : Jan 11, 2020

काठमाडौं, २६ पुष । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. दीलिप महतो प्रकरण : क्रसर उद्योगको आडमा मौलाएको गुण्डागर्दी !

धनुषा, २६ पुष । पछिल्लो समय मुलुकका विभिन्न जिल्लाहरुमा क्रसर सञ्चालकहरुको दादागिरी चल्छ, भन्दा फरक पर्दैन् ।

सम्झौता बाहिर गएर प्राकृतिक स्रोत साधनको दोहन गर्ने, स्थानीयले विरोध गर्दा गुण्डा लगाएर कुटपिट गर्ने, धम्क्याउनेलगाएतका क्रियाकलाप सामान्य भइसक्यो ।

अझ भन्नुपर्दा धनुषामा त औराही खोलामा चुरियामाई क्रसर उद्योगको अवैध उत्खननको विरोध गर्दा क्रसर उद्योगीले टिपरले किचेर ज्यान समेत लिएको छ ।

गत शुक्रबार विहान ४ बजे औराही खोलामा डोजर लगाएर उत्खनन् भएको थाहा पाएपछि रोक्न गएका स्थानीय दीलिप कुमार महतो फर्केर आएनन् । केही दिनअघि मात्रै भारतमा इञ्जिनियरिङ सकेर गाँउ फर्किएका दीलिप आफ्नो खेतसँग जोडिएको जग्गामा अवैध उत्खननको बारम्बार विरोध गर्दै आएका थिए ।

२. स्थानीय तहको लेखापरीक्षण गर्न खटिएका कर्मचारी गाँउमा पुग्दैनन् !

काठमाडौं, २६ पुष । संघीयता कार्यन्वयनमा आइसक्दा पनि महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको लागि स्थानीय तहमा नपुग्दा खोटाङको दिप्रुङ चुइचुम्मा गाँउपालिकाको लेखापरीक्षण भएको छैन् ।

खोटाङका १० वटा स्थानीय तहको लेखापरीक्षणका लागि महालेखापरीक्षकको कार्यालय काठमाडौंबाट निर्देशक घनश्याम अधिकारीको नेतृत्वमा पुगेको टोली ४६ दिनसम्म जिल्लामा बस्दा पनि गाँउपालिका र महालेखाको आ–आफ्नै ढिपीका कारण गाँउपालिकाको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण नभएको हो ।

गाँउपालिका प्रमुख भूपेन्द्र राईले महालेखापरीक्षकको कार्यालयले स्थानीय तहलाई स्थानीय सरकारका रुपमा नहेरी परम्परागत रुपमै श्रेस्ता बोकेर अन्य ठाँउमा बोलाएर गाँउपालिकालाई महत्व नदिएको गुनासो गर्न काठमाडौंसम्म आएका छन् ।

३. सडक कालोपत्रे भएको दुई महिनामै उप्कियो !

पाल्पा, २६ पुष । पाल्पाको रिब्दीकोट–२ स्थित कन्टिपोखरी हुँदै ख्याहा देउराली जोड्ने ७ सय मिटर लामो सडकखण्ड कालोपत्रे भएको दुई महिनामै उप्किन थालेको छ ।

प्रदेश सरकार र गाँउपालिकाको ५०/५० प्रतिशत लगानीमा करीब ८० लाखमा सिलवाल कन्सट्रक्शनले उक्त सडकखण्डमा कालोपत्रे गरेको हो ।

कालोपत्रे भएको दुई महिनामै सडक भत्किन थालेपछि स्थानीयले गुणस्तरमा छानबिन गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com