२६ पुष २०७६, शनिबार
  • घनश्याम मिश्र,

धनुषा, २६ पुष । पछिल्लो समय मुलुकका विभिन्न जिल्लाहरुमा क्रसर सञ्चालकहरुको दादागिरी चल्छ, भन्दा फरक पर्दैन् ।

सम्झौता बाहिर गएर प्राकृतिक स्रोत साधनको दोहन गर्ने, स्थानीयले विरोध गर्दा गुण्डा लगाएर कुटपिट गर्ने, धम्क्याउनेलगाएतका क्रियाकलाप सामान्य भइसक्यो ।

अझ भन्नुपर्दा धनुषामा त औराही खोलामा चुरियामाई क्रसर उद्योगको अवैध उत्खननको विरोध गर्दा क्रसर उद्योगीले टिपरले किचेर ज्यान समेत लिएको छ ।

गत शुक्रबार विहान ४ बजे औराही खोलामा डोजर लगाएर उत्खनन् भएको थाहा पाएपछि रोक्न गएका स्थानीय दीलिप कुमार महतो फर्केर आएनन् । केही दिनअघि मात्रै भारतमा इञ्जिनियरिङ सकेर गाँउ फर्किएका दीलिप आफ्नो खेतसँग जोडिएको जग्गामा अवैध उत्खननको बारम्बार विरोध गर्दै आएका थिए ।

सोही कारण चुरियामाई क्रसरका सञ्चालक विपिन महतोले दीलिपका बाबु रामजीवन महतोलाई छोरा दीलिपलाई मार्ने धम्की दिएका थिए । सञ्चालक विपिन महतोले धम्की दिएको तेस्रो दिन छोरा दीलिपको ज्यान नै लिए ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले शबको मुचुल्का नै नउठाई शब उठाएको परिवारको गुनासो छ ।

प्रहरीले दीलिपलाई किचेको ना७ख ६४१३ नम्बरको टिपर, चालक मुनिन्द्र महतो, क्रसर सञ्चालक विपिन महतो र दीलिपसँगै शुक्रबार बिहान खोलामा पुगेका रोशन यादवलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुविरुद्ध मृतकका बाबु रामजीवन महतोले कर्तव्य ज्यान मुद्धामा किटानी जोहरी दिएका छन् ।

LIVE TV