२६ पुष २०७६, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २६ पुष । कपिलवस्तुमा रहेको कनकमुनि बुद्धको गृहनगर अरौराकोटमा पुष पूर्णिमाको अवसरमा दियो बालेर उत्सव मनाइएको छ ।

उत्सवलाई सम्बोधन गर्दै प्रदेश सांसद विष्णु पन्थीले पूर्वी कपिलवस्तुलाई पर्यटनको माध्यमबाट बिकास गर्नुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले बुद्धस्थल र हिन्दू धर्मसँग सम्बन्धित दर्जनौं पूरातात्विक सम्पदाले पूर्वी कपिलवस्तु धनी रहेको भन्दै यसलाई मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा योजनाबद्ध बिकास हुन नसक्दा पर्यटकीय स्थलको प्रवर्धन हुन नसकेको भन्दै अहिलेका तीन तहका सरकार मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाले थप्नुभयो, ‘विगतमा विविध कारणले यहाँको बिकास हुन सकेन । अहिले हामीबीच तीन तहको सरकार छ । मिलेर यहाँको विकास गर्नुपर्छ ।’

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको उल्लेख गर्दै यसको सिलसिलामा अरौराकोटमा कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा. राधा वाग्लेको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव, सहसराम यादव, नेकपाकी केन्द्रीय सदस्य विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, कपिलवस्तु नगरपालिकाकी उप–प्रमुख लक्ष्मी गुप्तालगायतको उपस्थित थिए ।

LIVE TV