२५ पुष २०७६, शुक्रबार
  • रोशन दानी,

काठमाडौं, २२ पुष । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले ‘सुखी नेपाली, समृद्ध-शान्त नेपाल’का लागि सुशासन अनिवार्य हुनुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शुक्रबार गल्फुटारमा आयोजना गरेको ‘शान्ति–सुरक्षा सुदृढीकरण’ अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘सुशासन, समृद्धि र दीगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ, त्यो पूरा गर्न तपाई हाम्रो भूमिका पनि जरुरी छ ।’

उहाँले फेरि भन्नुभयो, ‘सबै हाम्रो आकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्ने प्रवृत्तिले देश बन्दैन । सरकारको आकांक्षामा मेरो भूमिका के छ ? भनेर खोजी गर्नुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘प्रहरीको आचरण, व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने मेरो एक मात्र उद्देश्य छ । यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा गर्दछु ।’

उहाँले भन्नुभयो, ‘मुलुकको विकास, समृद्धि, सुशासन र स्थायी शान्तिको जिम्मा सरकारको मात्र होइन, मेरो पनि हो भन्ने हामी सबैले बुझ्नु जरूरी छ । आफ्नो सुगन्धित महल बनाउनेले घर बाहिर निस्किदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त–सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनुपर्दछ ।

आज समाजमा भएका सबै अपराध, भय, त्रास समाजकै सदस्यहरुबाट भएको हो । यस्ता बाटो बिराएकाहरुलाई कानूनको दायरामा ल्याउन तपाईहरुको पनि भूमिका छ ।

डर लाग्दो अपराधका घटना रोकथाम, नियन्त्रण गर्न नै ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ ल्याइएको हो ।’

कार्यक्रममा उपस्थित बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले समाजमा हुने अपराधहरुको रोकथाम र नियन्त्रणमा निकै प्रभावकारी भूमिका निर्भाह गरिरहेको बताउनुभयो ।

LIVE TV