२५ पुष २०७६, शुक्रबार
  • अमर काफ्ले,

इनरुवा, २५ पुष । नेपाल पुलिस क्लब इनरुवामा जारी एमएम कपको सेमीफाइनल पुग्ने तेस्रो टिम बनेको छ ।

समूह ‘बी’ अन्र्तगतको अन्तिम खेलमा आज प्रदेश नम्बर-२ लाई ४६ रनले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

अन्तिम चारमा स्थान बनाउन दुवै टिमका लागि आजको खेल जित्नै पर्ने थियो । जसमा वलरले उत्कृष्ठ प्रर्दशन गरेपछि नेपाल पुलिसले नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो ।

१ सय ८४ रनको लक्ष पछ्याउँदै मैदान उत्रेको प्रदेश २ को पारी १ सय ३७ रनमा समेटियो ।

पहिलो पारीमा पुलिसलाई मध्यम स्कोरमा समेट्न सफल बनेको प्रदेश–२ को ब्याटिङ भने चल्न सकेन् ।

निर्णायक खेलमा ब्याट्सम्यान नचल्दा २ नम्बर प्रदेश ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउन पुग्यो र पराजय सँगै समूह चरणबाटै बाहिरियो ।

प्रदेश २ का बिशाल सुस्लिङले ८० रनको पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् । प्रदेश नम्बर २ का चार ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किएका थिए । हरिशंकर साहले १८ र हसिम अन्सारीले टिमकालागि १० रन जोडेका थिए ।

२ नम्बर प्रदेशलाई अलआउट गर्ने क्रममा पुलिसका दीपेन्द्र ऐरी र ललित सिंह भण्डारीले ३/३ विकेट लिए । पवन सर्राफले २ विकेट हात पारेको खेलमा ललित राजवंशी र सागर ढकालले १/१ विकेट लिए ।

त्यसअघि पहिलो इनिङसमा ब्याटिङ गरेको पुलिसको सुरुवात समेत राम्रो हुन सकेन् । मध्यम सुरुवात गरेको पुलिसका सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका लागि ३६ रन जोडे ।

व्यक्तिगत ७ रनमा रनआउटका रुपमा धमलालाई गुमाएको पुलिसले त्यसपछि लय गुमायो र उसको विकेट पतनको क्रम सुरु भयो ।

मध्यम क्रमका ब्याट्सम्यान नचल्दा धराशायी बनेको पुलिसको पारीलाई दीपेन्द्र ऐरी र राशिद खानले उकासे । दुवैले सातौं विकेटका लागि ४७ रनको महत्वपूर्ण साझेदारी गरे ।

पुलिसका दीपेन्द्र ऐरीले ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । टिमका लागि अमित श्रेष्ठले ३७, अनिल साहले १९ र राशिद खानले १६ रन जोडे । पुलिसले ३३ रन अतिरिक्त पाएको थियो ।

प्रदेश २ का लेग स्पिनर कुमार थापा एक्लैले पुलिसको ५ विकेट चट्काए । १० ओभर वलिङ गरेका थापाले ३ ओभर मेडन राख्दै ३२ रन दिए । विवेक यादव र राहुल प्रताप सिंहले समान २/२ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरी खेलको प्लेयर अफ द म्याच चुनिए । प्रतियोगिता अन्र्तगत भोलिबाट समूह डी अन्र्तगतका खेलहरु हुने छन् । भोलिको खेलमा सुदुर पश्चिम प्रदेशले मलेसिया ११ को सामना गर्ने छ ।

जारी प्रतियोगितामा प्रदेश नम्बर ३ सँगै विभागीय टिम आर्मी यस अघिनै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

LIVE TV