ट्रम्पको युद्धसम्बन्धी निर्णय लिने अधिकार सीमित गर्ने प्रस्ताव स्वीकृत



प्रकाशित मिति : Jan 10, 2020

एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले इरानसँग युद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको थप अधिकार सीमित गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

डेमाेक्र्याटिक पार्टीको बहुमत भएको अ‍ेमेरिकी तल्लो सदनमा बिहीवार भएको बहसमा राष्ट्रपतिको युद्धाअधिकार कसरी सीमित गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । संसदमा गरिएको प्रस्तावअनुसार राष्ट्रपति ट्रम्पले इरानबिरुद्ध थप सैनिक आक्रमण गर्नुअघि कंग्रेसको स्विकृती लिनु अनिवार्य हुनेछ । उक्त प्रस्तावलाई संसद्‌मा २२४-१९४ मतले पारित गरेकाे छ । यद्यपी रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा यसबारे मतदान हुन बाँकी नै छ।

बिहीवार तल्लो सदनकी सभामुख तथा विपक्षी नेत्री न्यान्सी पेलोसीले यो प्रस्तावले अमेरिका र अमेरिकीलाई थप हिंसाबाट जोगाउने बताइन् । उनले ट्रम्पले गत हप्ता इरानी सैन्य नेता कासिम सुलेमानीको ज्यान जानेगरी ड्रोन आक्रमण गराएर अमेरिकालाई सुरक्षित बनाएको भनेर प्रतिक्रिया दिएतापनि आफुलाई विश्वास नलागेको बताएकी छिन्।

गत हप्ता अमेरिकाले बग्दादमा ड्रोन आक्रमण गरेर एक वरिष्ठ इरानी सैन्य नेतालाई मारिदिएपछि केही दिनअघि इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। तर इरानी आक्रमणमा भने कुनै मानवीय क्षति हुन पाएन ।

यता इरान आक्रमणबारे ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले आफुलाई गुप्तचर मार्फत प्राप्त सूचनाका आधारमा सुलेमानीमाथि हवाई आक्रमण गरिएको नयाँ दाबी गरेका छन्। उनले इरानी पक्षले इराकस्थित अमेरिकी दूतावासमा विस्फोटन गराउन खोजेको गोप्य सूचना प्राप्त भएपछि आक्रमण गरिएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com