सार्वजनिक यातायात र टाेल विकास संस्थालाई डस्टबिन वितरण



प्रकाशित मिति : Jan 10, 2020
  • देवराज पन्त

मकवानपुर, २५ पुष । नारायणी यातायात व्यवसायी संघ तथा डिभिजन वन कार्यालय, मकवानपुरले संयुक्त रुपमा हेटौंडा बसपार्कमा निशुल्क डस्टबिन वितरण गरेका छन् ।

प्रदेश- ३ का उद्योग वन तथा वातावरण मन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा करीब २ सय थान डस्टबिन हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र १० का टोल विकास संस्था, मन्दिर, सार्वजनिक संस्था तथा नारायणी संघसँग आबद्ध भाडाका सवारीहरुलाई वितरण गरिएको हो ।

सार्वजनिक सवारीमार्फत यात्रु गर्नेहरूले प्रयोग गरेका सामग्रीबाट निस्केका फोहोरजन्य पदार्थ सडक, बसपार्कहरुमा जथाभावी नफालून् भन्ने उद्देश्यले सार्वजनिक सवारीहरुमा अनिवार्य डस्टबिनको व्यवस्था गरिन लागेको संघका महासचिव सरोजकुमार खनालले जानकारी दिएका छन् ।

कार्यक्रममा मन्त्री नेपालले सार्वजनिक सवारी निर्माण गर्दा सवारीभित्र अनिवार्य फोहोर संकलन गर्ने भाँडा पनि निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । आफूले उब्जाएका फोहोर आफैँले व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले उद्योगहरुले उत्पादन गरेका सामग्रीहरु प्रयोगपछि आउने फोहोर संकलनका लागि उद्योग आफैँले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, संघका पदाधिकारीहरु, टोल विकास संस्थाका सदस्यलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com